पु.समाचार

विद्यार्थीलाई सीपमूलक ज्ञान दिनुपर्नेमा भट्टराईको जोड

काठमाडौँ । महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री कान्ता भट्टराईले अबका विद्यार्थीलाई शिक्षण संस्थाले व्यावसायिक शिक्षा तथा सीपमूलक ज्ञान उपलब्ध गराउनुपर्ने बताएकी छन् ।

सतुंगलस्थित काठमाडौँ शिक्षा क्याम्पसमा सोमबार आयोजित अन्तरक्रियामा उनले विद्यार्थीलाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउन सकेमा देशमा शैक्षिक बेरोजगार न्यूनीकरण हुने विश्वास व्यक्त गरिन्।

काठमाडौँ निर्वाचन क्षेत्र नं १० अन्तर्गत प्रदेश (ख) का सांसद तथा नेकपा (एमाले)का नेत्री रमा आलेमगरले सैद्धान्तिक ज्ञान र व्यावहारिक ज्ञान दुवैले मात्र विद्यार्थीलाई चलाख र दैनिक जीवनमा संघर्षशील व्यक्तिका रुपमा स्थापित गर्ने बताईन् ।

राप्रपाका केन्द्रीय सदस्य देवेन्द्र प्रधानले अन्तरराष्ट्रिय मापदण्डका आधारमा निर्माण भएका पाठ्यक्रमभन्दा स्वदेशी आवश्यकताअनुसारको आधुनिक शिक्षा विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने विचार व्यक्त गरे ।