राजनीति

एमालेले मुख्यमन्त्री पाए सभामुख नपाउने, माअ‍ोवादी केन्द्रले राख्यो यस्तो प्रस्ताव !

काठमाण्डौ । राष्ट्रिय सभाको सिट संख्या बाँडफाँटको टुंगो लगाएपछि नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश प्रमुख चयनका लागि गृहकार्य सुरु गरेका छन् । मुख्यमन्त्रीलाई प्रमुख पद मान्दै बाँडफाँटमा जुन पार्टीले मुख्यमन्त्री पाउँछ, सभामुख अर्काे पार्टीलाई दिने प्रस्ताव माओवादी केन्द्रले गरेको छ ।

स्रोतका अनुसार भर्खरै सम्पन्न एमाले–माओवादी केन्द्रको संयुक्त कार्यदलको बैठकमा माओवादी केन्द्रका नेताहरुले यस्तो प्रस्ताव गरेका थिए । तर, राष्ट्रिय सभाको निर्वाचन पहिले हुने भएकाले कार्यदल बैठक त्यसै विषयमा केन्द्रित भयो ।
कार्यदलको बुधबारको बैठकले राष्ट्रिय सभाको बाँडफाँट टुङ्ग्याएपछि अब प्रदेश सरकारको विषयमा टुङ्गो लगाउन कार्यदलको बैठक हुनेछ ।
माओवादी प्रस्ताव अनुसार, जुन प्रदेशमा एमालेका मुख्यमन्त्री हुन्छन्, त्यहाँ माओवादी केन्द्रले प्रदेश सभाको सभामुख लिने र जहाँ माओवादी केन्द्रका मुख्यमन्त्री हुन्छन्, त्यहाँ एमालेको तर्फबाट सभामुख हुनेछन् ।

एमाले–माओवादी केन्द्रले प्रदेश सरकारको बाँडफाँटमा ६०–४० कै अनुपातमा गर्ने सम्भावना छ । यो बाँडफाँट अनुसार वामगठबन्धनले जित्ने ६ मध्ये एमालेको भागमा ४ र माओवादी केन्द्रको भागमा २ मुख्यमन्त्री पर्नेछन् ।

‘यति नै मुख्यमन्त्री र सभामुख हुनुपर्छ भनेर माओवादी केन्द्रले भनेको छैन, उसको प्रस्ताव मुख्यमन्त्री र सभामुख साटासाट गरौं भन्ने हो’ कार्यदलमा रहेका एमाले नेता शंकर पोखरेलले भने, ‘यो उसको प्रस्ताव मात्र हो, यस विषयमा छलफल भएको छैन ।’

६०–४० को अनुपातमा मुख्यमन्त्रीको बाँडफाँट हुने सम्भावना भएपनि प्रदेश सभाका सभामुख–उपसभामुखको हकमा चाहिँ यो बाँडफाँट सम्भव देखिन्न । उपरोक्त अनुपात अनुसार २ वटा मुख्यमन्त्रीमा माओवादीको दावी पुग्छ, तर सभामुखको बाँडफाँट चाहिँ ठीक उल्टो हुन्छ ।

अर्थात् एमालेले ४ वटा मुख्यमन्त्री पाउँदा एमालेको भागमा २ वटामात्र सभामुख पर्नेछन्। यसो हुँदा एमालेले जम्मा ४० प्रतिसत मात्र सभामुख पाउनेछ भने माओवादी केन्द्रले ६० प्रतिशत माओवादी केन्द्रले चाहिँ सभामुख जसले लिन्छ, उसले उपसभामुख लिने प्रस्ताव पनि गरेको छ ।

बाँडफाँटमा एमालेले प्रदेश–१, ३, ४ र ५ को मुख्यमन्त्री पाउने सम्भावना छ भने माओवादी केन्द्रले प्रदेश–६ र ७ को मुख्यमन्त्री । ‘्