राजनीति

भारतको दादागिरीप्रति तरुण दल आक्रोशित, जंगे पिलर हटाउन सरकारसँग माग

काठमाण्डौ । भारतले नेपालीभूमी मिचेर जंगे पिलर सारेको भन्दै नेपाल तरुण दलले आपत्ति जनाएको छ । तरुण दलका महामन्त्री भूपेन्द्रजंग शाहीले विज्ञप्ति प्रकाशित गर्दै भारतीय पक्षबाट पटक–पटक भइरहेका यस्ता हर्कत तत्काल रोक्न सरकारसामु माग गरेका छन् । पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका वडा नं. १ को छकपैयामा भारतले नेपाली भूमी मिचेर पिलर गाँडेपछि तरुण दलले आपत्ति जवनाएको हो ।
तरुण दलको विज्ञप्तिमा भनिएको छ, ‘भारतीय पक्षबाट नेपाली सिमा अतिक्रमण भएको घटनाले हामीलाई दुखित र आक्रोशित बनाएको छ । नेपालीभूमी मिचेर जंगे पिलर सारिएको घटनाप्रति हाम्रो गम्भीर आपत्ति छ ।’

तरुण दलले नेपाली सिमा र अस्मितामाथि गम्भीर चोट पुर्याउने उक्त कदमलाई तत्काल रोक्नु पर्ने माग राख्दै घटनाको सत्यतथ्य पत्ता लगाएर बारम्बार हुने सिमा अतिक्रमणको दीर्घकालीन समाधान निकाल्न सुझाएको छ । भारतीय पक्षबाट हुने अतिक्रमण बन्द नभए भूमी रक्षाका लागि जुनसुकै कदम चाल्न पनि तरुण दल बाध्य हुने महासचिव भुपेन्द्रजंग शाहीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

बीरगंजको छपकैयास्थित करिव ५० बिघाभन्दा वढि नेपालीभूमी मिचेर जंगे पिलर सारिएपछि सर्वत्र विरोध भइरहेको छ । सो पिलर नेपाल, भारत संयुक्त सीमा सर्वेक्षण टोलीले दुवै देशको दशगजा क्षेत्रमा हराएका पिलर निर्माण र जीर्णको मर्मत गर्ने क्रममा नेपालीले भोगचलन गर्दै आएको भूमी एकाएक भारततर्फ पर्ने गरी नयाँ पिलर बनाएका हुन् । जसमा जंगे पिलर ३९१ को ३८ र ३९ तथा ३९२ को ७,८,९,१०,२७ र २८ नं. को सहायक पिलर नेपालतर्फ परेका छन् ।

यस्तो छ विज्ञप्ति

प्रेस बिज्ञपति २०७४/१०/५
विभिन्न संचार माध्यमका अनुसार भारतीय पक्ष बाट नेपाली सिमा अतिक्रमण भएको भन्ने घटनाले हामीलाई दुखी र आक्रोशित बनायको छ। पर्सा, रौतहट, कंचनपुर लगायत विभिन्न जिल्लाको नेपाली भूमी मिचेर जंगे पिलर सारिएको घटनाप्रति हामि गम्भीर आपत्ती प्रकट गर्दछौ। नेपाली सिमा र अस्मिता माथि गम्भीर चोट पुर्याउने उक्त कदमलाई तत्काल रोक्न संबंधित पक्षको ध्यानाकर्षण गराउन चाहन्छौ।यो घटनाको सत्यतथ्य पत्ता लगाइ बारम्बार हुने यस्तो सिमा अतिक्रमणको दीर्घकालीन समाधानको लागि उचित पहलकदमी लिन सरकार समक्ष जोडदार माग गर्दछौं । यो दादागिरी स्वरुपको अतिक्रमण बन्द नभय हाम्रो भुमी रक्षाको लागी हामी जुनसुकै कदम चाल्न बाध्य हुनेपनि संबंधित पक्ष सबैलाई सचेत गराउदछौ।

भुपेन्द्र जङ्ग शाही
महामन्त्री
नेपाल तरुण दल