आर्थिक

पाँच महिनामा कुल वस्तु निर्यात १० प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा नेपालको कुल वस्तु निर्यात बढेको देखिएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार कुल वस्तु निर्यात १० प्रतिशतले वृद्धि भइ ३३ अर्ब ७० करोड रुपैंया पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १७.१ प्रतिशतले वृद्धि भएको थियो।

पाँच महिना समीक्षा अवधिमा भारततर्फ ५.५ प्रतिशत, चीनतर्फ ७८.४ प्रतिशत र अन्य मुलुकतर्फ १२ प्रतिशतले निर्यात बढेको छ। वस्तुगत आधारमा पशुआहार, वनस्पति घ्यु, धागो, जिङ्क सिट, तयारी पोसाक लगायतका वस्तुको निर्यात बढेको छ भने जुस, अलैँची, जिआइ पाइप, उनी गलैँचा, तामाका तार लगायतका वस्तुहरुको निर्यात घटेको छ।

समीक्षा अवधिमा कुल वस्तु आयात १२.८ प्रतिशतले बढेर ४३१ अर्ब ४९ करोड रुपैँया पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७८.९ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा भारतबाट भएको आयात १३.२ प्रतिशत, चीनबाट भएको आयात १.४ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १८.९ प्रतिशतले बढेको छ। वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, सुन, एम.एस विलेट, पोलिथिन ग्रेनियुल्स लगायतका वस्तुको आयात बढेको छ भने कृषि औजार तथा पार्टपुर्जा, विद्युतीय सामान, सेनिटरीवेयर्स, खाने तेल, ड्राइसेल ब्याट्री लगायतका वस्तुहरुको आयात घटेको छ।

भन्सार नाकाका आधारमा सुख्खा बन्दरगाह भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, नेपालगञ्ज भन्सार कार्यालय, मेची भन्सार कार्यालय, कैलाली भन्सार कार्यालय, कञ्चनपुर भन्सार कार्यालय र रसुवा भन्सार कार्यालयबाट भएको निर्यातमा वृद्धि भए तापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा कमी आएको छ।

त्यसैगरी आयाततर्फ समीक्षा अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, कञ्चनपुर भन्सार कार्यालय र रसुवा भन्सार कार्यालयबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ।

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १३ प्रतिशतले बढेर ३ खर्ब ९७ अर्ब ७९ करोड पुगेको छ। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ७.८ प्रतिशत रहेकोे छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८ प्रतिशत रहेको थियो।

निर्यात आयात मूल्य सूचकाङ्क आर्थिक वर्ष २०७४/७५ को पाँच महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क (यूनिट भ्यालु इन्डेक्स) वार्षिक विन्दुगत आधारमा ०.४ प्रतिशतले घटेको र आयात मूल्य सूचकाङ्कमा ४.९ प्रतिशतले वृद्धि भएकोले व्यापारको सर्त (टर्म्स अफ ट्रेड) मा ५.३ प्रतिशतले ह्रास आएकोे छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो सर्त १२.६ प्रतिशतले बढेको थियो।

कार्पेट, पस्मिना, अलैँची, घ्यु, मुसुरोको दालको निर्यात मूल्यमा ह्रास आएका कारण निर्यात मूल्य सूचकाङ्कमा कमी भएको हो भने पेट्रोलियम पदार्थ, सवारी साधन, टायर, रेफ्रिजिरेटर, ल्यापटपको मूल्यमा वृद्धि भएका कारण आयात मूल्य सूचकाङ्कमा वृद्धि भएकोे नेपाल राष्ट्र बैंकले जानाकारी दिएको हो।

नेपालखबरबाट साभार