पु.समाचार

प्रदेश प्रमुख नियुक्तीको पत्र अझै राष्ट्रपति कार्यालय पुगेन, सपथ ग्रहण अन्योलमा !

काठमाण्डौ । सरकारले बुधबार नियुक्त गरेको प्रदेश प्रमुखको शपथ ग्रहण कार्यक्रम केही दिन ढिला हुने भएको छ । संवैधानिक व्यवस्था अनुसार सातै प्रदेशका प्रदेश प्रमुखलाई राष्ट्रपतिले प्रदेश प्रमुखलाई शपथ खुवाउनु पर्नेछ । त्यसका लागि सरकारले राष्ट्रपति समक्ष प्रमुख नियुक्त गरेको पत्र पठाउनुपर्ने हुन्छ ।

तर, सरकारले अझै राष्ट्रपति समक्ष उक्त पत्र पठाएको छैन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव कुलप्रसाद चुडालले अहिलेसम्म सरकारबाट प्रदेश प्रमुख नियुक्त गरेको पत्र नआएको बताए । ‘हिजो रातीसम्म राष्ट्रपति कार्यालयमा सरकारको पत्र आइपुगेको छैन्,’ उनले भने,‘आज सार्वजनिक विदा हो, विदामा पक्रिया अघि बढ्दैन् ।’

चुडालले सरकारबाट पत्र प्राप्त हुन साथ राष्ट्रपतिले प्रदेश प्रमुखलाई शपथ ग्रहणका लागि बोलाउने बताए । बिदाका दिन भएकाले प्रदेश प्रमुखले केही दिन अझै कुर्नुपर्ने भएको हो ।

तर वाणिज्यमन्त्री मीन विश्वकर्माले राष्ट्रपति समक्ष प्रदेश प्रमुखहरूको शपथ ग्रहणका लागि पत्राचार गरिसकिएको बताए । ‘मन्त्रिपरिषद्को पत्र राष्ट्रपति कहाँ मुख्य सचिवमार्फत बुधवार नै पठाउने निर्णय भएको छ,’ उनले भने,‘ राष्ट्रपतिले आफ्नो अनुकूल र आवश्यकता अनुसार छिट्टै बोलाउनु होला ।’

यी दुईको भनाई बाझिएपछि अन्यौलता झनै बढेर गएको छ । लामोसमयदेख प्रदेश प्रमुख नतोकेको आरोप खेपिरहेको सरकारले हिजो मात्र प्रदेश प्रमुख र अस्थायी मुकाम तोकेको थियो । सरकारले आज तामाङ सोनाम ल्होछारको अवसरमा सार्वजनिक विदा दिएका कारण सरकारी कामकाज रोकिएको हो ।

संविधानको धारा १६३ मा प्रदेश प्रमुख सम्बन्धी व्यवस्था गरिएको छ । उक्त व्यवस्था अनुसार प्रदेश प्रमुखले निर्वाचनको परिणाम घोषणा भएको २० दिन भित्र प्रदेश सभाको बैठक बोलाउनु पर्नेछ ।

सो बैठक बस्नु अगाडि प्रदेश सभा सदस्यहरूले प्रदेश प्रमुख समक्ष शपथ ग्रहण गर्नुपर्ने व्यवस्था छ । प्रदेश प्रमुखको नियुक्ति भएको सात दिनभित्र प्रदेशसभाको अन्तिम मत परिणाम उनी समक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसै अनुसार निर्वाचन आयोगले बुधवार नै उक्त नतिजा घोषणा गरिसकेको छ ।

सरकारले प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी तोकेको छ ।

त्यस्तै प्रदेश प्रमुखहरु पनि तोकिएका छन् । प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द सुब्बा, प्रदेश नम्बर २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश नम्बर ३ मा अनुराधा कोइराला प्रदेश नम्बर ४ मा बाबुराम कुँवर, प्रदेश नम्बर ५ मा उमाकान्त झा, प्रदेश नम्बर ६ मा दुर्गा खनाल र ७ मा मोहनराज मल्ल प्रदेश प्रमुख तोकेको छ ।