खेलकुद

मेयरकप क्रिकेटको उद्घाटन खेलमा नागार्जुन विजयी

बैतडी । शहीद दिवसको अवसरमा दशरथचन्द नगरपालिकामा ‘प्रथम मेयरकप क्रिकेट प्रतियोगिता, २०७४’आजदेखि शुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा र उपप्रमुख मीना चन्दले गरेका हुन् ।

प्रतियोगिताको उद्घाटन खेलमा दशरथचन्द नगरपालिका– २ देहिमाण्डौंलाई ८० रनले हराउँदै दशरथचन्द नगरपालिका– ११ नागार्जुन विजयी भएको छ । बुड्डा बाजे क्रिकेट मैदान रातामाटामा टस जितेर ब्याटिङ गरेकोे नागार्जुनले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १६१ रन बनायो । नागार्जुनका कप्तान राम चन्दले ३७ रन जोडेका थिए ।

बलिङतर्फ देहिमाण्डौँका ऋषिकेश बोहराले ह्याट्रिकसहित चार विकेट लिए ।

एक सय ६२ रनको लक्ष्यसहित मैदानमा उत्रेको देहिमाण्डौँ १६।४ ओभरमा ८१ रनमा समेटियो । देहिमाण्डौँका लागि ऋषिकेश बोहराले १५ रन जोडे । बलिङतर्फ नागार्जुनका मदन चन्दले तीन विकेट लिए । नागार्जुनका कप्तान राम चन्द म्यान अफ द म्याच भएको अम्पायर निरञ्जन बोहराले जानकारी दिए ।

दशरथचन्द नगरपालिकाको आयोजना तथा बैतडी जिल्ला क्रिकेट संघ र नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा उक्त प्रतियोगिता सञ्चालन भएको हो । टि ट्वान्टी ढाँचामा भइरहेको प्रतियोगिताको विजेताले रु ५० हजार, ट्रफी र प्रमाणपत्र तथा उपविजेताले रु ३० हजार तथा प्रतियोगिताका म्यान अफ द सिरिजलाई रु पाँच हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । माघ १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ वटै वडाका टोलीको सहभागिता छ ।

प्रतियोगिताअन्तर्गत बिहीबार पहिलो खेल वडा नं ८ र वडा नं ११ बीच तथा अर्को खेल वडा नं २ र वडा नं ८ बीच हुनेछ । मेयरकप क्रिकेट प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुनाका साथै नगरभित्र रहेका क्रिकेटका नयाँ प्रतिभाको खोजी गर्न सहयोग मिल्ने नगर उपप्रमुख मीना चन्दले बताए ।