राजनीति

प्रदेशको अस्थायी मुकाम तोक्ने विषयमा मन्त्रीहरुबीच नै बाझाबाझ ! बैठक ३ बजेका लागि बोलाइयो

काठमाण्डौ । प्रदेशहरुको अस्थायी मुकाम तोक्ने विषयमा विवाद हुँदा बुधबार विहान बसेको मन्त्रिपरिषद बैठक स्थगित भएको छ ।

अस्थायी मुकाम तोक्न बुधबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश अस्थायी मुकामसम्बन्धी प्रस्ताव पेश गरेपछि मन्त्रीहरुले आ–आफ्नो अडान राखेका थिए । उनीहरुले आफूलाई पायक पर्ने ठाउँ रोजेपछि विवाद सिर्जना भएको हो ।

‘सबैले आफ्नो अनुकुल अस्थायी मुकाम हुनुपर्छ भनेपछि बैठकमा विवाद सिर्जना भयो र आजै दिउँसो तीन बजे फेरि बस्ने गरी स्थगित भएको छ’, स्रोतले भन्यो ।

प्रधानमन्त्रीको प्रस्तावमा प्रदेश १ को अस्थायी मुकाम विराटनगर प्रस्ताव गरिएको छ । तर, राप्रपा प्रजातान्त्रिकबाट मन्त्री बनेका सुनिलबहादुर थापाले धनकुटा हुनुपर्ने तर्क अघि सारेका छन् ।

प्रदेश २ को राजधानी जनकपुर प्रस्ताव गरिएको छ भने ३ मा विवाद देखिएको छ । उपप्रधानमन्त्री कमल थापाले हेटौंडालाई अस्थायी मुकाम बनाउनुपर्ने माग राखेका छन् ।

प्रदेश ४ को अस्थायी मुकाम पोखरा प्रस्ताव गरिएको छ । ५ को दाङ र बुटवल भन्नेमा मन्त्रीहरुबीच विवाद छ । ६ को सुर्खेत प्रस्ताव गरिएको छ भने ७ मा धनगढी र दिपायल भन्नेमा मन्त्रीहरुको मत बाझिएको छ ।