पु.समाचार

काठमाण्डौ महानगरपालिकाका यी सात वडाका भित्रि सडकमा चापाङ्ग्रे सवारी निषेध

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले सात वटा वडाका भित्री सडकमा आजदेखि चारपाङ्ग्रे सवारी साधन प्रवेश गर्न रोक लगाएको छ ।

कामपाले ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि बिहान ७ देखि बेलुकी ७ बजेसम्म भित्री सडकमा त्यस्ता साधन गुड्न रोक लगाएको कामपाका प्रशासकीय अधिकृत धनीराम शर्माले जानकारी दिए । कामपा वडा नं १७, १८, १९, २२, २४, २५ र २७ का भित्री क्षेत्रभित्रका सम्पदालाई बचाउन सो निर्णय गरिएको बताउँदै उनले भने, “सम्पदाको संरक्षण गर्ने कार्य एकातिर छ भने अर्कोतर्फ बाटो साँघुरो, सर्वसाधारणको चाप बढी हुने भएकाले दुर्घटना पनि हुने गरेको छ, त्यसलाई नियन्त्रण गर्न आवश्यक छ ।”

जबर्जस्ती कसैले निषेध गरिएका स्थानमा सवारी साधन चलाएमा रु ५०० देखि रु एक हजारसम्म जरिवाना र अन्य थप कारबाहीसम्म पनि हुने कामपाले जनाएको छ । बिरामी, सुत्केरी र ज्येष्ठ नागरिक बोकेको गाडी, एम्बुलेन्स र दमकललाई भने रोक नलगाइने कामपा वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्यले जानकारी दिए ।

चारपाङ्ग्रे सवारी साधनलाई भोटाहिटीबाट असन चोकसम्म एकतर्फी निषेध गरिएको छ । यस्तै नरदेवीबाट भेडासिंह हुँदै इन्द्रचोकसम्म तथा टेंगलबाट बाङ्गेमुढा हुँदै भेडासिं, इन्द्रचोकसम्म र क्षेत्रपाटीबाट ठहिटी हुँदै नघःल, बाङ्गेमुढा भेडासिं हुँदै इन्द्रचोकसम्म एकतर्फी जान पाउने व्यवस्था मिलाइएको छ ।

साथै इन्द्रचोकबाट असन, इन्द्रचोकबाट भेडासिं, ज्याठाबाट त्यौड, ठहिटीबाट असन, कमलाक्षीबाट असन, महाबौद्धबाट असन, इन्द्रचोकबाट वटुसम्म चारपाङ्ग्रे सवारी साधनलाई पूर्णरुपमा निषेध गरिएको छ । बेलुकी ७ देखि बिहान ७ बजेसम्म भने सबैखालका सवारी साधन उक्त स्थानमा आवतजावत गर्न पाउनेछन् ।