राजनीति

पाँच दललाई निर्वाचन आयोगले बोलायो, राष्ट्रिय सभाका मतदाता अन्यौलमा

काठमाण्डौ । निर्वाचन आयोगले प्रमुख पाँच दललाई छलफलका लागि बोलाएको छ । आयोगले राष्ट्रिय सभाको निर्वाचन र प्रदेश प्रमुखका विषयमा छलफल गर्न उक्त बैठक बोलाएको हो । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा नेपली काँग्रेस, नेकपा एमाले, नकेपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी रहेका छन् ।

सरकारलाई आयोगले तत्काल प्रदेश प्रमुख तोक्न ताकेता गरिरहेको भए पनि राजनीतिक सहमतिका अभावमा अझै प्रदेश प्रमुखको टुंगो लाग्न सकेको छैन ।

आयोगले माघ २४ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि माघ ७गते मतदाता नामावली सार्वजनिक गर्ने जनाएको छ । राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशसभाका सदस्यसमेत मतदाता हुनेछन् ।

सरकारले प्रदेश प्रमुख नियुक्त गर्न नसक्दा निर्वाचन आयोगले निर्वाचन परिणाम बुझाउन सकेको छैन । निर्वाचन परिणाम नबुझाउँदासम्म राष्ट्रिय सभाका मतदाताको टुंगो लाग्न सकेको छैन ।

निर्वाचन आयोगसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि राजनीतिक परामर्शलाई तीव्र बनाएका छन् । मंलबार दलहरुसँग छलफल गरी आजै साँझ बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख टुंगो लगाउने सम्भावना छ ।