राजनीति

प्रधानमन्त्री एमाले–माओवादीसँग छलफलमा व्यस्त, आजै प्रदेश प्रमुख तोकिने

काठमाण्डौ । सातवटै प्रदेशका प्रमुख तोक्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार एमाले र माओवादीका नेताहरुसँग छलफल गर्दैछन् । यो छलफलपछि दिउँसो मन्त्रिपरिषद बैठक बोलाइएको छ ।

एमाले र माओवादीका शीर्ष नेताहरुलाई छलफलका बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो । देउवाले आजै पार्टीका शीर्ष नेताहरुसँग पनि परामर्श गर्ने तयारी गरेका छन् ।

एमाले-माओवादीसँग छलफलपछि मंगलबार दिउँसो चार बजे मन्त्रिपरिषद बैठक बस्ने तय भएको र सम्भवत सोही बैठकबाट प्रदेश प्रमुख तथा प्रदेशको अस्थायी सम्पर्क कार्यालय खोल्ने निर्णय हुनेछ ।

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘प्रदेश प्रमुख र प्रदेशको अस्थायी कार्यालय तोक्ने सबै तयारी पूरा भएको छ ।’

सरकारले प्रदेश प्रमुख नतोकिँदा निर्वाचन आयोगले प्रदेशसभातर्फको समानुपातिक तर्फको निर्वाचन परिणाम बुझाउन पाएको छैन भने यसकै कारण राष्ट्रियसभा निर्वाचनमा पनि ढिलाइ भइरहेको छ ।