राजनीति

माघी पर्वका दिन शीतल निवासमा राष्ट्रपतिको भोज !

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना तथा जलपान कार्यक्रमको आयोजना गरेकी छन् ।

राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आज आयोजित सो कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, पूर्व उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रिपरिषद्का अध्यक्ष लगायतको सहभागीता थियो ।

यसैगरी कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य, मुख्य सचिव, प्रधानसेनापति, कलाकार, सञ्चारकर्मीको पनि सहभागिता थियो ।

थारु समुदायले आजको दिनलाई नयाँ वर्षका रुपमा धुमधामका साथ उन्मुक्ति दिवसका रुपमा मनाउने गर्दछन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ ।

साउन १ गतेदेखि शुरु भएको दक्षिणायन अन्त्य भई माघ १ गतेदेखि नै उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान, साधना, दान आदिलाई पुण्यदायक मानिन्छ ।

आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी, बेत्रावतीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी स्थानमा भव्य मेला समेत लाग्ने गर्छ ।