अन्तर्राष्ट्रिय

चीन र जापानको तनावलाई मत्थर पार्ने यी युवती को हुन् ?

काठमाण्डौ । जब जापानी अभिनेत्री तथा पूर्व पोर्नस्टार सोरा अओइले अनलाइनमा आफ्नो विवाहको घोषणा गरिन्, चिनियाँ सामाजिक सञ्जालमा यसले तहल्का नै मच्चायो ।

नयाँ वर्षको दिन अओइले आफ्नो ‘इन्गेजमेन्ट’ को औँठीको फोटो सामाजिक सञ्जालमा पोस्ट गरिन् र विश्वभरका आफ्ना प्रशंसकसामु खुसीको खबर बाँडिन् । ४८ घण्टाभित्रै वेइबोको उनको सो पोस्टमा एक लाख ७० हजारभन्दा बढी कमेन्ट र ८ लाख ३० हजार लाइक आयो ।

चीन र जापानबीचको सम्बन्ध करिब एक शताब्दीदेखि तिक्त छ । तर किन चिनियाँहरुमा एक जापानी पोर्नस्टारको यति ठूलो प्रभाव छ त ?

वास्तवमा अओइले चिनियाँ इन्टरनेट प्रयोगकर्ताको जीवनमा आश्चर्यजनक रुपमा महत्वपूर्ण भूमिकाका खेलेकी छन् ।

‘हामी तिम्रा चलचित्रसँगै हुर्कियौँ र सँधैझैँ तिमीलाई समर्थन गरिरहनेछौँ,’ चिनियाँ माइक्रोब्लगिङ साइट वेइबोमा एक फ्यानले लेखे ।

‘तिमी मेरालागि सदैव एक देवीका रुपमा रहनेछौ,’ अर्का वेइबो प्रयोगकर्ताले लेखे ।

‘गुरुआमा अओइ’

सन् २००० को दशकको सुरुदेखि नै अओइले पोर्नोग्राफीमा आफ्नो करिअरको सुरुवात गरेकी थिइन् । अनुमानित रुपमा उनले ९० भन्दा बढी वयष्क चलचित्रमा भूमिका निभाएकी छन् । सन् २००३ देखि २००५ सम्म त हरेक महिना उनको नयाँ पोर्न चलचित्र आउने गथ्र्यो ।

चीनमा पोर्नोग्राफी प्रतिबन्धित छ, तै पनि उनी चिनियाँ पुरुषहरुको मुटुको ढुकढुकी बनेरै छोडिन् ।

‘आफ्नो किशोरावस्थामा उपयुक्त यौन शिक्षा नपाएका थुप्रै चिनियाँहरुका लागि सोरा अओइ हाम्रो गुरुआमा बनिन्,’ एक सत्ताइस वर्षीय चिनियाँ पुरुष भन्छन् ।

चिनियाँ इन्टरनेट तीव्र गतिमा विकसित भइरहेको बेला चीनमा उनको लोकप्रियता बढ्यो । एकपछि अर्को गर्दै नयाँनयाँ वेब पोर्टल, अनलाइन समुदाय र स्ट्रिमिङ साइटहरु खुले, जसले पोर्नोग्राफीसहित अन्य सबै प्रकार सूचनाहरुलाई फैलिन मद्दत गरे ।
‘सोरा अओइले चीनमा लोकप्रियता हासिल गर्ने सही समय उपयोग गरिन्,’ हङकङस्थित चाइनिज युनिभर्सिटीको जापान अध्ययन विभागका प्राध्यापक वाइ मिङ ङ भन्छन् ।

‘उनी यो देशमा लोकप्रिय बन्दै गर्दा चीन यौनसहित अन्य सबै क्षेत्रमा खुलापन अपनाइरहेको थियो,’ उनी भन्छन् ।

पोर्नोग्राफी चीनमा किशोरकिशोरीका लागि यौनका बारेमा सूचनाको मुख्य स्रोत हो । स्कुलमा यौनशिक्षा सीमित दिइन्छ र अभिभावक केटाकेटीलाई यसबारे ज्ञान दिन लजाउँछन् ।

यतिधेरै पोर्न छ्याप्छ्याप्ती उपलब्ध हुँदा पनि सोरा अओइ किन अलग छिन् त ?

एसियाली समाजमा यौन एक ‘ट्याबु’ हो तर पोर्नोग्राफीमा आफ्नो करिअरलाई लिएर अओइले आफूले कहिल्यै हीनताबोध महसुस नगरेको बताएकी छन् । उनले जहिले पनि ‘आफ्नो काममा रमाएको’ अभिव्यक्ति दिँदै आएकी छन् । अनलाइनमा उनीमाथि गरिएका तिक्त टिप्पणीहरुप्रति पनि उनले संयमतापूर्वक जवाफ दिने गरेकी छन् ।

अओइले ११ अप्रिल २०१० मा ट्विटर खोलिन् । यो विषयमा ट्विटर प्रतिबन्धित रहेको चीनमा समाचार फैलियो । त्यसैकारण उनका अनेकौँ फ्यानले चीनको ‘ग्रेट फायरवाल’ पार गरेर भिपिएनमार्फत ट्विटर अकाउन्ट खोलेर उनलाई फलो गरे ।

त्यो रातलाई पछि ‘सोरा अओइको रात’ नामाकरण गरियो ।

सात महिनापछि अओइले वेइबोमा पनि अकाउन्ट खोलिन् । त्यसयता उनले एक करोड ८० लाख फलोअर प्राप्त गरिसकेकी छन् ।

२०११ मा अओइले पोर्नोग्राफी छोडिन् र त्यसयता आफूलाई अभिनेत्री तथा गायकका रुपमा स्थापित गरिन् ।

उनले म्युजिक सिंगल रिलिज गरिन् र अनलाइन भिडियो तथा चलचित्रमा अभिनय गरिन् । त्यसमा पनि चीन उनका लागि राम्रो बजार बन्यो ।

चिनियाँ संस्कृतिसँग परिचित हुन उनले पनि थुप्रै मेहनत गरिन् । वेइबोमा चिनियाँ भाषामा लेखिने उनका हरेक पोस्ट उनी आफैँले लेख्ने गरेको उनका व्यवस्थापक बताउँछन् ।

भाषाबाहेक उनले चिनियाँ हस्तलिपि पनि सिकेकी छन् । सन् २०१३ मा उनको एक हस्तलिपि ९२ हजार डलरमा बिक्री भएको बताइएको छ ।

‘संसारकै सोरा अओइ’

चीन र जापानबीचको उतारचढावपूर्ण सम्बन्धका बीच चिनियाँहरुले उनको प्रशंसा गर्नु अचम्मलाग्दो देखिन्छ ।

दोस्रो विश्वयुद्धमा जापानले चीनमा गरेको अत्याचार र टापुहरुको स्वामित्वलाई लिएर दुई देशको बीचमा तनाव छ ।चीन र जापानबीच विवादित टापुलाई चिनियाँहरु दियाओयु भन्छन् भने जापानीहरु सेनकाकु ।

यद्यपि जापानमा बस्ने चिनियाँ लेखक वेनवेइ हुआङ चीन र जापानबीचको तनाव मत्थर पार्दै नागरिक सम्बन्ध बढाउनमा अओइले वास्तविक भूमिका खेलेको बताउँछन् ।

‘चिनियाँ इन्टरनेटमा एकपटक एउटा भनाइ लोकप्रिय भएको थियो– ‘दियाओयु टापु चीनको हो, सोरा अओइ संसारकै हुन ।’ यसरी उनले राजनीतिक तनावलाई कम गरेकी छन्,’ उनी भन्छन् ।

प्राध्यापक वाइका अनुसार सोरा अओइ चीनमा प्रसिद्ध हुनुले भूमण्डलीकरणको युगमा राष्ट्रियताका आधारमा मात्र होइन, मिडिया सामग्रीको उपभोगका आधारमा पनि मानिसहरुले आफूलाई परिभाषित गर्छन् भन्ने देखाएको छ । बिबिसी