पु.समाचार

चिसाेका कारण मृत्यु हुनेकाे संख्यामा वृद्धि

लहान, माघ १ । पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहाको कर्जन्हा नगरपालिकाको एउटै वडामा एक साताभित्र चार महिलासहित पाँच जनाको मृत्यु भएको छ ।

चिसोका कारण आइतबार कर्जन्हा नगरपालिका–६ निवासी ७१ वर्षीया अमिरतीदेवी यादवको मृत्यु भएसँगै सोही वडामा जाडोका कारण मृत्यु हुनेको संख्या पाँच जना पुगेको हो ।

यसअघि गत शुक्रबार सोही वडाकी ६२ वर्षीया सीमादेवी साह र गत बुधबार सोही ठाउँका ५२ वर्षीय विश्वनाथ साह, ७० वर्षीया रुनादेवी सदा र ७२ वर्षीया रामसुनैर साहको मृत्यु भएको सो वडाका वडाध्यक्ष जगदिश महतोले जानकारी दिए ।

उनले चिसोका कारण मृत्यु भएकाको परिवारको आर्थिक अवस्था कमजोर भएकाले सरकारको तर्फबाट मृतक परिवारलाई क्रियाखर्च उपलब्ध गराउनुपर्ने माग गरे ।

यस्तै अत्यधिक चिसोका कारण आइतबार सिरहाको लहान नगरपालिका–६ मा पनि एक महिलाको मृत्यु भएको छ । अत्यधिक चिसोका कारण कठ्यांग्रिएर लहान नगरपालिका–६ निवासी ६५ वर्षीया सीतादेवी भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

योसँगै सिरहामा चिसोका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ । यसअघि गत मंगलबार सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ सीतापुर निवासी ४१ वर्षीया माकोदेवी पासवान, कल्याणपुर नगरपालिका घर भई सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वास्थित मामाघर आएकी पाँच वर्षीया काजलकुमारी मण्डलको मृत्यु भएको थियोे ।

चिसोको कारण निमोनियाले थलिएकी काजललाई उपचारको लागि लहानस्थित अस्पताल लैजाने क्रममा मृत्यु भएको परिवारजनले बताएका छन् ।

यस्तै चिसोकै कारण गत साता सिरहाको गोलबजार नगरपालिका–४ निवासी शम्भु साहको छ वर्षीय छोरा लभकुमार साह र गोलबजार–२ लालपुर निवासी ७० वर्षीय रामप्रसाद महतो र धनगढीमाई नगरपालिका–७ कसहा निवासी ५५ वर्षीय रामरतन महतोको मृत्यु भएको थियो।

अत्यधिक जाडोका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ । अस्पतालमा रुघाखोकी, ज्वरो, कोल्डडायरियालगायतका बिरामी बढेका छन् । रासस