पर्यटन/संस्कृति

सामुदायिक पदमार्गमा पर्यटक बढे

म्याग्दी । म्याग्दीमा सञ्चालित अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको भ्रमणमा आउने पर्यटकको संख्या वर्षेनी बढ्दै गएको छ ।

उत्तरी पर्वतको बाँसखर्क, लेकफाँट म्याग्दीको राम्चे, हिस्तान र घारका पर्यटकीयस्थललाई समेटिएको अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको भ्रमणमा आउने पर्यटकको संख्या बढेको हो ।

सन् २०१६ मा ८९४ जनाले भ्रमण गरेको यो पदमार्गमा सन् २०१७ मा भ्रमणमा आउने पर्यटकको संख्या एक हजारजना पुगेको पदमार्गका संयोजक चित्र तिलिजा पुनले जानकारी दिनुभयो । सन् २०१५ मा ४७५ र २०१६ मा ८९४ जना पर्यटक भ्रमणका लागि आएका थिए ।

छ वर्षअघि स्थानीयवासीको सक्रियतामा पदमार्ग सञ्चालनमा ल्याइएको थियो । गाउँको शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, पर्यटन प्रवद्र्धनका साथै सामाजिक कामका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले पदमार्ग सञ्चालन गरिएको थियोे ।

स्वीजरल्याण्ड, स्पेन, फ्रान्स, कोस्टारीका, अमेरिका, डेनमार्क, नर्वे, ब्राजिल, जर्मन, क्यानडा, बेलायत, अस्टे«लिया, जापान, रसिया, हल्याण्ड, इङ्ल्याण्ड, भारत, इटली, इजरायल र स्कटल्याण्डका पर्यटक यो पदमार्ग भ्रमणमा आएका छन् ।

मनोरम ग्रामीण बस्ती, मगर संस्कृति, हिमशृङ्खलाको अवलोकन, एकान्त तथा शान्त स्थल भएकाले प्रकृति प्रेमी पर्यटकले यो पदमार्गलाई रुचाएका हुन् । म्याग्दीको घुमाउनेतालबाट पाँचदेखि सात दिनमा भ्रमण गर्न सकिने यस पदमार्गले पर्वतको बाँसखर्क, डाँडाकटेरी, म्याग्दीको नाँगी, मोहरेडाँडा, डाँडाखर्क, हिस्तानको टिकोट र घारको खिवाङ गाउँलाई समेटेको छ ।

पदमार्गअन्तर्गत बाँसखर्क, हिस्तानको टिकोट र खिवाङमा २० जना क्षमताको होमस्टे सञ्चालन भएको छ । बाँसखर्क, डाँडाकटेरी, टिकोट, खिवाङमा डाइनिङ हल तथा नागी र मोहरेडाँडामा सामुदायिक लज सञ्चालन भएको छ ।

सामुदायिक लजबाट भएको आम्दानी प्रभावित बस्तीको शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माणलगायतका क्षेत्रमा खर्च हुने गरेको छ । यो पदमार्ग भ्रमणका लागि प्रतिदिन एकजनाका लागि दुई हजारदेखि रु दुई हजार ५०० खर्च आवश्यक पर्छ ।

पर्यटकको आगमन बढेपछि नांगी र मोहरेडाँडामा रहेको सामुदायिक लजको क्षमता बढाउने तयारी भए पनि आर्थिक स्रोतको अभाव भएको पदमार्ग सञ्चालक समितिका रमन पुनले बताए । सो ठाउँमा हाल २० जना क्षमताको सामुदायिक लज सञ्चालनमा छ । अनुकुल याममा क्षमताभन्दा बढी पर्यटक आउन थालेपछि उनीहरुलाई व्यवस्थापन गर्न समस्या भएको छ ।

नर्जा खोलाको झरना ओझेलमा

प्रशस्त पर्यटकीय सम्भावना बोकेको म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङमा रहेको नर्जा खोलाको झरना अझै ओझेलमा परेको छ ।

भौतिक पूर्वाधार र प्रचारप्रसारको कमीका कारण मनमोहक र आकर्षक सो झरना ओझेलमा परेको हो । गुरिल्ला पदमार्ग र ढोरपाटन शिकार आरक्षमा जाने बाटोमा पर्ने उक्त झरनाको व्यवस्थापन हुन सकेको छैन ।

लुलाङको प्रवेशद्वार मानिने पहाडको फेदीमा अवस्थित उक्त झरनाकोे फेदीमा तलाउसमेत छ । करिब १०० मिटर माथिबाट छङ्छङाउँदै झर्ने झरनाको दृष्यले मोहित बनाउने लुलाङ खोरियाका नन्दु पुनले बताए ।

झरनाको सौन्दर्यको बारेमा प्रचारप्रसार र व्यवस्थापन हुन नसकेको उनको भनाइ छ । बर्खायाममा इन्द्रेणी लाग्दा झरना अझै आकर्षक देखिन्छ । मुना हुँदै लुलाङ जाने बाटोमा पर्ने उक्त झरना नजिकै झोलुङ्गे पुल पनि छ ।

लुलाङका वडाध्यक्ष गमबहादुर विश्वकर्माले नर्जा झरना लुलाङको गहना भएको बताए । झरनामा पूर्वाधार विकास, व्यवस्थित र प्रचारप्रसार गरेर पर्यटक आकर्षित गर्ने योजना बनाइएको उनले जानकारी दिए । झरना नजिकै विश्रामस्थल र घेराबार गर्नुपर्ने भएको छ ।