राजनीति

दहाललाई प्रधानमन्त्री बन्न काँग्रेसले प्रस्ताव गरेको छैनः प्रवक्ता शर्मा

काठमाण्डौ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले प्रतिनिधि तथा प्रदेशसभामा ल्याएको नतिजाका बारेमा छलफल गर्न केही दिनभित्रै केन्द्रीय कार्यसमितिको बैठक बस्ने बताएका छन् ।

राजधानीमा भएको एक साक्षात्कारमा बोल्दै उनले पार्टीलाई बलियो र सशक्त बनाएर अगाडि बढाउनका लागि गम्भीर छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाउन लागिएको बताए ।

पार्टीभित्र पराजयबारे गम्भीर समीक्षा गरेर नवजीवन दिने बाटोमा अगाडि बढ्नुपर्छ’, उनले भने ।

‘हामी बदलिन्छौँ, देश बदल्छौँ’ भन्ने दृढ इच्छा राखेर उमेरभन्दा पनि कार्यसूचीलाई प्राथमिकतामा राखेर अगाडि बढे मात्र सफल होइने उनको भनाइ थियो । प्रवक्ता शर्माले केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार आवश्यक परे महासमिति र महाधिवेशन प्रतिनिधिको बैठक बोलाइने स्पष्ट पारे ।

नेता शर्माले काँग्रेसले कुनै पार्टीको कुनै नेतालाई प्रधानमन्त्री हुन प्रस्ताव नगरेको स्पष्ट गर्दै पार्टी जनादेशलाई आत्मासात् गरेर अगाडि बढ्ने बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाललाई प्रधानमन्त्री बन्न काँग्रेसले प्रस्ताव गरेको भन्ने गलत हल्ला फैलिएको थियो ।

नेता शर्माले सरकारले चाँडो प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने जानकारी दिँदै राष्ट्रियसभाको निर्वाचनपछि आगामी फागुनको पहिलो वा दोस्रो हप्तामा नयाँ सरकार बन्ने बताए ।