पु.समाचार

संखुवासभामा मेला भर्न हिँडेको जिप दुर्घटना, गाउँपालिकाका अध्यक्षसहित पाँच जनाको मृत्यु

संखुवासभा । संखुवासभामा जीप दुर्घटना हुँदा गाउँपालिकाका अध्यक्षसहति पाँच जनाको मृत्यु भएको छ ।

आइतबार संखुवासभाको मकालु गाउँपालिकाको हेदङ्नामा भएको उक्त दुर्घटनामा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर कटुवाल, समाजशास्त्री अर्जुन बस्नेत, इन्जिनीयर सुदीप ढकाल, जिल्ला समन्वय समितिका सूचना अधिकृत सुभाषचन्द्र कुइकेल, पाथीभरा हेदांनाका सुरेश राई र जीप चालकको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक सन्तोष खड्काले जानकारी दिएका छन् ।

सदरमुकाम खाँदबारीबाट भोटखोलाको वरुण मेला भर्न जाने क्रममा मकालु गाउँपालिकातर्फ जाँदै गरेको बा ५ च १३१९ नम्बरको जिप गढीबजार नजिकै दुर्घटनामा परेको हो । स्थानीय तह निर्वाचनमा कटुवाल नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । जिपमा १२ जना यात्रु सवार रहेको जनाइएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।