राजनीति

वाम एकता कार्यदलले बैठक बस्दै, कार्यदलले राष्ट्रिय सभाका उम्मेदवार सिफरिस नगर्ने

काठमाण्डौ । वाम गठबन्धनको संयुक्त कार्यदलले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस नगर्ने जनाएको छ । कार्यदलले उम्मेदवार छनोटका मापदण्ड र आधार तय गरी नेतृत्वलाई सुझाव दिनेछ । कार्यदलको बैठक अहिले ३ बजे बस्दैछ ।

कार्यदलले उम्मेदवार छनोटका चार आधार यसअघि नै तय गरिसकेको छ । कार्यदलले तयार पारेको मापदण्डका आधारमा सम्वन्धित दलहरुले नै उम्मेद्वार चयन गर्नेछन् ।

‘हामी नीतिगत पक्षलाई ध्यानमा राखेर सुझाव दिन्छौँ, ’एमाले नेता एवं कार्यदलका सदस्य सुवासचन्द्र नेम्वाङले भने, ‘व्याक्तिको छनोट वा सिफारिस कार्यदलले गर्दैन । कार्यदलले आधारहरु दिन्छ । यसरी गर्न सकिन्छ भन्छ। त्यसपछि पार्टीले निर्णय गर्छ ।’

कार्यदलले गत स्थानीय निर्वाचनमा दलले पाएको मत र प्रदेशसभाको मतपरिणामलाई पहिलो आधार मानेर उम्मेद्वार चयन हुने मापदण्ड तय गरेको छ । उम्मेदवार छनोट गर्दा पार्टी एकता र पद व्यवस्थापनलाई ध्यान दिइने दोस्रो आधार छ । भावी प्रदेशसभाका सभामुख र उपसभामुख लगायतका आकांक्षी व्यवस्थापन समेतको सुझाव कार्यदलको मापदण्डमा छन् ।

राष्ट्रियसभा निर्वाचनमा गठबन्धका दलमध्ये कसले कति उम्मेदवार पाउने भन्ने टुङ्गो छैन । दुई दलीय सहमति अनुसार यसअघि निर्वाचनको जस्तो ६०–४० को भागबण्डा राष्ट्रियसभामा हुने छैन । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनले ६०–४० को अनुपातमा उम्मेदवार चयन गरेका थिए ।

दुई दलको पार्टी एकता संयोजन समितिको बैठकले राष्ट्रियसभा गठन र प्रदेशसभा गठनका लागि गृहकार्य गर्न संयुक्त कार्यदल गठन गरेको थियो। कार्यदलमा एमाले र माओवादीका गरी ६ सदस्य छन्।