उर्जा

औरहीमा विद्युत् नहुँदा जनता अँध्यारोमा बस्न बाध्य

राजविराज । सप्तरीको अति विकट मानिएको डाकनेश्वरी नगरपालिका–३, औरही गाउँमा बिजुली नहुँदा जनता अँध्यारोमा दिन बिताउँदैछन् ।

भारतीय सीमा नाकासँग जोडिएको सो गाउँमा अहिलेसम्म बिजुली नपुगेको स्थानीयवासी देवकुमार यादवले बताए । सदरमुकाम राजविराजदेखि पश्चिम दक्षिणमा अवस्थित सो गाउँमा हालसम्म विद्युत् नहुँदा मोबाइल चार्ज तथा गहुँ– धान कुटाउनीपिसाउनी गर्नसमेत समस्या हुने गरेको गुनासो उनले गरे ।

दलित, मुसलमान र यादवको बसोबास रहेको उक्त गाउँमा करिब पाँच वर्ष अगाडि नेपाल विद्युत् प्राधिकरणले खम्ब गाडे पनि अहिलेसम्म तार नदिएका कारण बिजुली बाल्नबाट आफूहरु वञ्चित भएको स्थानीयवासी मुकेशकुमार यादवले बताए ।

तीन सय घरधुरी रहेको साविकको औरही गाविसबाट रु तीन लाखमा खम्बा र तारका लागि बजेट छुट्याइए पनि हालसम्म विद्युत् नपुग्दा आफूहरुलाई भारतीय गाउँमा मोबाइल चार्जलगायत अति अवाश्यक काम गर्न जानुपर्ने बाध्यता रहेको मिरदुल यादवले दुखेसो पोखे । यता प्राधिकरणले भने त्यहाँ छिट्टै विद्युत् दिइने जनाएको छ ।