अन्तर्राष्ट्रिय

अमेरिकामा क्षेप्यास्त्र हमला भएपछि भागाभाग !

बीबीसी । अमेरिकाको हवाई राज्यका गभर्नर डेभिड इगेइले एकजना कर्मचारीले आफ्नो काम सकिने बेला गलत बटन थिचेकोले गलत सूचना गएको भन्दै क्षमा मागेका छन् ।

क्षेप्यास्त्र हमला हुँदैछ भन्ने सतर्कता सन्देश गलत हो भन्ने घोषणा हुनुअघि उक्त सन्देशले त्यहाँका बासिन्दालाई शनिवार बिहान तनावमा पारेको थियो ।

मोबाइल फोन प्रयोगकर्ताहरूले हवाईमा बलिष्टिक क्षेप्यास्त्र हमला हुन लागेको भन्दै सतर्कता सन्देश पाएका थिए । अमेरिकाको संघीय सञ्चार आयोगले त्यसबारे पूर्ण अनुसन्धान थाल्ने जनाएको छ ।

उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरिरहेका बेला हवाई नजिक रहेकोले त्यहाँ पनि परीक्षण गर्न सक्ने सम्भावनाका कारण त्यहाँ सतर्कता प्रणाली राखिएको छ । गत महिना उक्त राज्यले शीतयुद्धको अन्त्यपछि पहिलोपटक परमाणु हमला हुन लागे त्यसबारे सतर्क गराउन आवाज दिने प्रणाली परीक्षण गरेको थियो ।

सबै ठूला अक्षरमा पठाइएको सन्देश स्थानीय समय अनुसार बिहान ८ बजेर ७ मिनेटमा पठाइएको थियो । त्यसको १८ मिनेटपछि उक्त सन्देश गलत भएको भन्दै इमेल पठाइयो । तर मोबाइलमै सन्देश भने अर्को ३८ मिनेटसम्म नपठाइएको बताइएको छ । बीबीसीका डेभिड विलिसले भने, हवाई राज्यको आपतकाल व्यवस्थापनसम्बन्धी संस्थालाई उक्त गल्ती सच्याउन झण्डै ४० मिनेट लागेको थियो ।

आपतकाल व्यवस्थापनसम्बन्धी संस्थाले भने ट्वीटमार्फत कुनै पनि क्षेप्यास्त्र हमलाको खतरा नभएको उल्लेख गरेको थियो । टेलिभिजन र रेडियोले पनि घर भित्रै बस्ने सन्देश दिँदै आफ्ना प्रशारणहरू बन्द गरेका थिए ।

सतर्क रहन आएको उक्त सन्देशपछि केही मानिसहरु गल्लीमा भागेका थिए भने केहीले अनियमित रूपमा गाडीहरू गुडाए र केहीले चाहिँ घरको सुरक्षित कोठामा बस्ने बन्दोबस्त मिलाए । गभर्नरले त्यस्ता गल्ती नदोहोरिऊन् भन्नका लागि कदमहरू चालिसकेको बताएका छन् । तर किन सतर्कताका लागि बजाइने अन्य आवाजहरू जो छुट्टै बजाइयो त्यो पनि बजे भन्ने चाहिँ स्पष्ट नभएको उनले बताए ।