राजनीति

केन्द्र र प्रदेशको अधिकारलाई न्यायोचित ढंगबाट बाँडफाँड गर्नुपर्छ : उपाध्यक्ष शाक्य

काठमाण्डौ । नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सरकार गठनमा भएको ढिलासुस्तीले प्रादेशिक सरकार निर्माणमा समेत प्रभाव परेको बताएकी छन् ।

स्थानीय पासा पुचः र मिसा पुचःद्वारा काठमाण्डौ महानगरपालिका–१५ स्थित सरस्वतीस्थानमा आज आयोजित बधाई तथा सम्मान कार्यक्रममा उनले जनादेशअनुसार काम हुन नसक्दा स्थानीय विकास तथा पूर्वाधार निर्माणमा समेत ढिलाइ भएको स्वीकार गरिन् । मुलुकमा रहेका स्थानीय साधन स्रोतमा केन्द्र र प्रदेशको अधिकारलाई न्यायोचित ढंगबाट बाँडफाँड गर्नुपर्नेमा उनले जोड दिइन् । उनी काठमाण्डौ निर्वाचन क्षेत्र नं ८ को प्रदेश (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुन् ।

काठमाण्डौ निर्वाचन क्षेत्र नं ८ का प्रतिनिसधसभा सदस्य जीवनराम श्रेष्ठले मुलुकमा राजनीतिक क्रान्ति पूरा भइसकेकाले अब आर्थिक समृद्धि कायम गर्नका लागि कृषि, पर्यटन, पूर्वाधार विकास निर्माणमा लगानी गरी रोजगार वृद्धि गर्नुपर्ने बताइन् ।

पासा पुचः का संयोजक महेन्द्र महर्जनले मेलम्चीदेखि ल्याउन लागिएको खानेपानीको पाइप व्यवस्थापन गर्ने क्रममा डल्लुदेखि विजेश्वरीसम्म खनिएको सडकखण्डलाई चाँडो पूर्णता दिन माग गरे ।

मिसा पुचः का संयोजक सरला चित्रकारले स्थानीय सरस्वती मन्दिर आसपासमा रहेको गुठीको जमिनलाई योगस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । यसअघि उपाध्यक्ष शाक्य र केन्द्रीय सदस्य श्रेष्ठलाई सीतापाइलाको स्थानीय क्लबले पनि सम्मान गरेको थियो ।