राजनीति

दाहालले ३० किलोको माला लगाएपछि बाबुरामलाई टेन्सन ! के भने ?

काठमाण्डौ । ३० किलोको माला लगाएको भन्दै नयाँ शक्तिका संयोजक बाबुराम भट्टाईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको चर्को आलोचना गरेका छन् ।

शनिबार बिहान दाहालले एक कार्यक्रममा ३० किलोको माला लगाएको भन्दै बाबुरामले व्याङ्ग्यात्मक आलोचना गरेका हुन् । ट्विटरमा दाहालको आलोचना गर्दै बाबुरामले ३० किलो मालाको राजनीतिक अर्थशास्त्रको नियम प्रतिपादन गर्न लागेको हो भन्दै प्रश्न गरे ।

‘समृद्धिलाई मुख्य एजेण्डा मान्नुहुने मेरा प्रिय कमरेडले ३० किलोको माला ग्रहण गर्नुभएको फूलको बजार विस्तार गरेर देशको समृद्धिको आधार निर्माण गर्ने नयाँ राजनीतिक अर्थशास्त्रको नियम प्रतिपादन गर्नलाई हो कि कसो हो प्रकाश पारिदिनुभए हामी सबै अनुगृहित हुनेथियौं !’, बाबुरामले भनेका छन् ।

शनिबार म्याग्दीको बेनीमा आयोजित औद्योगिक महोत्सवमा दाहाललाई ३० किलोको मालाले स्वागत गरिएको छ । कार्यक्रममा बोल्दै दाहालले वाम गठबन्धनले नयाँ सरकारको आर्थिक विकास र समृद्धिसम्बन्धि खाकाको गृहकार्य गरिरहेको बताएका छन् ।

‘हामीले राजनीतिक स्थिरता र विकासको प्रतिवद्धता व्यक्त गरेका छौँ । चुनावी अभियानका क्रममा जनताले विकास र समृद्धिको आकांक्षा बोकेर नै वाम गठबन्धनलाई मतदान गरेका हुन् ।’

दाहालले अवाम गठबन्धनको एक मात्र ध्यान विकास र समृद्धि भएको प्रष्ट पारे । ‘नयाँ बन्ने सरकारको विकास र समृद्धिको खाका कस्तो हुन्छ ?’, दाहालले भने, ‘यसबारे हामीले गृहकार्य गरिरहेका छौं, छिटै हामीले ठोस योजना अघि सार्छौं र कार्यान्वयन गर्छौं ।’

नेपाल प्रचुर साधन स्रोत र सम्भावना भएको मुलुक भएको बताउँदै दाहालले प्राकृतिक साधनको उपयोग गर्न सक्नुपर्ने बताए। ‘हाम्रा जडीबुटी, जलस्रोत, खनिज, जङ्गल लगायतका प्राकृतिक साधन स्रोतको अधिकतम् प्रयोग गरेर नै हामी विकसित देशमा फड्को मार्न सक्छौं’, अध्यक्ष दाहालले भने, ‘विश्व नै समृद्धिको युगमा प्रवेश गरेका छ। हामीलाई पनि अब ढिलाई गर्ने छुट छैन । जुन प्रतिवद्धता व्यक्त गरेर हामीले निर्वाचन लड्यौं, त्यही प्रतिवद्धताको कार्यान्वयन हाम्रो प्राथमिकता हो ।’