अन्तर्राष्ट्रिय

ट्रम्पको सेवा गर्न सक्दिन भन्दै पानामाका राजदूतले दिए राजीनामा

एजेन्सी । पानामाका लागि अमेरिकी राजदूतले ट्रम्पको सेवा गर्न नसक्ने भन्दै राजीनामा दिएका छन् । राजदूत जोन फिलेले ट्रम्प प्रशासनअन्तर्गत आफू राजीनामा दिन नैतिक रुपले बाध्य भएको बताएका हुन् ।

‘परराष्ट्र सेवाको कनिष्ठ अधिकारीका रुपमा सपथग्रहण गर्दा मैले केही नीतिहरुमा सहमत नभए पनि राष्ट्रपति र उनको प्रशासनको गैरराजनीतिक तरिकाले निष्ठापूर्वक सेवा गर्ने वाचा गरेको थिएँ,’ उनले आफ्नो राजीनामा पत्रमा लेखेका छन्, ‘तर मैले त्यसो गर्ने अवस्था रहेन भने म नैतिक रुपले राजीनामा दिन बाध्य हुने कुरा मेरा प्रशिक्षकहरुले स्पष्ट पारेका थिए । अहिले त्यो समय आइपुगेको छ ।’

अमेरिकी नौसेनाका पूर्व हेलिकप्टर पाइलट पनि रहिसकेका फिलेले डिसेम्बरको अन्तमा राजीनामा बुझाएका हुन् । उनले आफ्नो पद आगामी मार्च महिनाको ९ तारिखबाट छोड्नेछन् ।

कूटनीतिज्ञहरुको बारेमा जिम्मेवार अमेरिकी विदेश मन्त्रालयले फिलेले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् ।