पु.समाचार

पाँच बुँदे सहमतिपछि गोविन्द केसीले मोचिको हातबाट यसरी तोडे अनशन !

काठमाण्डौ । त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्राध्यापक डा. गोविन्द केसीले आज अनसन तोडेका छन् । टिचिङ अस्पतालको गेट नजिकै जुत्ता सिलाउने काम गर्दै आएका अथुनिया मोचीको हातबाट जुस पिएर डा केसीले अनसन तोडेका हुन् ।

हिजो साँझ भएको केसी पक्ष र नेपाल सरकारबीच पाँच बुँदे सम्झौतापछि केसीले आज अनसन तोडेका हुन् । शुक्रबार साँझ महाराजगञ्जस्थित अस्पतालमा स्वास्थ्य मन्त्री दीपक बोहरा, योजना आयोग उपाध्यक्ष डा स्वर्णिम वाग्ले सम्मिलित टोली र केसी पक्षबीच भएको वार्तामा पाँच बूँदे सम्झौता भएको थियो ।

गत सोमबारदेखि प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको माग गर्दै उनले अनशन शुरू गरेका थिए । सम्झौतामा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन एक साताभित्र सिफारिश समिति गठन गर्ने, आइओएमको डीनमा प्रा डा जगदीश अग्रवाललाई नै निरन्तरता दिने लगायतका विषयहरु समेटिएका छन् । अदालतको अपहेलना मुद्दामा सोमबार हिरासतमा लिइएका उनलाई बुधबार सर्वोच्च अदालतले साधारण तारेखमा छोडेको थियो । केसीको यो १४ औं आमरण अनशन हो ।