पर्यटन/संस्कृति

तिलौराकोटमा आउने पर्यटकको संख्यामा वृद्धि

जीतपुर । प्राचीन कपिलवस्तुस्थित तिलौराकोटमा आउने पर्यटकको संख्यामा वृद्धि भएको छ ।

तीन वर्षदेखि बुद्ध क्रिडास्थल तिलौराकोटमा जारी उत्खननले यहाँ पर्यटकको संख्यामा वृद्धि भएको लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले बताए । “उत्खननकै कारण प्रचारप्रसार भएकाले पर्यटकको आगमनमा वृद्धि भएको छ”, उनले भने । खासगरी यहाँ म्यानमा, श्रीलंका, भियतनाम, चीन, थाइल्यान्ड, दक्षिण कोरिया, जापानलगायत देशका पर्यटक अत्यधिक मात्रामा आउने गरेका छन् ।

यहाँको मुख्य दरबार भग्नावशेषमा आई सूत्रपाठ तथा पूर्वी र पश्चिमी ढोकामा गौतम बुद्धको बाल्यकालको जीवनलीला पाठ गरेपछि मात्र शान्तिप्राप्ति भई आत्मसन्तुष्टि हुने विश्वास भएकाले बौद्ध धर्मावलम्बी आउने भिक्षु मैत्री महास्थवीरले बताए । बुद्धको जीवनीसँग सम्बन्धित यहाँका धेरै पुरातात्विकस्थलमा विदेशी पर्यटक आउने गर्छन् ।

सिद्धार्थ गौतमले २९ वर्ष बिताएको तिलौराकोटमा एक वर्षमा ६० बढी देशका विदेशी पर्यटकले भ्रमण गरेका छन् । भ्याटिकन सिटी, जापान, जर्मनी, फ्रान्सलगायत चीनसम्मका पर्यटकले तिलौराकोट अवलोकन गरेका छन् । सन् २०१७ मा कूल ४१ हजार ५५३ जनाले तिलौराकोट भ्रमण गरेका हुन् । तीमध्ये ३७ हजार ८६५ विदेशी, एक हजार ५११ भारतीय र दुई हजार १७७ नेपाली छन् । सन् २०१६ मा कूल ३६ हजार ४७१ पर्यटकले तिलौराकोटको भ्रमण गरेका थिए । तीमध्ये ३२ हजार ८९१ विदेशी, ९४८ भारतीय र दुई हजार ६३२ नेपाली थिए । सन् २०१६ को तुलनामा २०१७ मा पाँच हजार बढी पर्यटकले भ्रमण गरेको लुम्बिनी विकास कोष एकाइ कार्यालय तिलौराकोटले जनाएको छ ।

सन् २०१५ मा २३ हजार ४६९ विदेशीले बुद्धका पिता राजा शुद्धोधनको प्राचीन दरबारको अवलोकन गरेका थिए । सन् २०१४ मा ३० हजार २३४ र सन् २०१३ मा २७ हजार ५०२ विदेशी पर्यटक यहाँ आएका थिए । सेप्टेम्बरदेखि मार्च महिनालाई पर्यटक आउने मौसमका रुपमा मानिएको छ । तिलौराकोट शुद्धोधनको राजप्रासादका रुपमा परिचित छ।

सन् २०१६ मा यहाँ सबैभन्दा बढी म्यानमा र थाइल्यान्डका पर्यटक आएका छन् । त्यसपछि श्रीलंका, कम्बोडिया, भियतनाम र दक्षिण कोरियाका पर्यटक यहाँ बढी आएको तिलौराकोटस्थित लुम्बिनी विकास कोषको सम्पर्क कार्यालयले जनाएको छ । नब्बे प्रतिशतभन्दा बढी विदेशी विश्व शान्ति र सद्भावको कामना तथा तीर्थाटनका लागि आउने गरेको तिलौटाकोटस्थित लुम्बिनी विकास कोषका कर्मचारी सञ्जय शर्माले बताए । सन् २०१७ नोभेम्बरमा सबैभन्दा बढी सात हजार ३६० र त्यसपछि फेब्रुअरीमा सात हजार ७७ विदेशी पर्यटक आएका थिए । जुनमा सबैभन्दा कम ८३ विदेशीले मात्र भ्रमण गरेका थिए ।

तिलौराकोटमा पर्यटकको संख्या बढ्नु सकारात्मक भएको स्थानीयवासी तेजकुमार बौद्धाचार्यले बताए । उनले ठोस योजना र भौतिक पूर्वाधारको अभाव भएकाले प्रायः भारतको बाटो हुँदै लुम्बिनीको भ्रमणपछि मात्र यहाँ पर्यटक आउने गरेको बताए ।