राजनीति

राष्ट्रपति र उपराष्ट्रपति दोहोरिने, नयाँ सरकार गठन गर्न भण्डारीको यस्तो रोल !

काठमाण्डौ । राष्ट्रपति र उपराष्ट्रपति फेरी दाहोरिने संकेत देखा परेको छ । राष्ट्रपतिविद्या भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुननै दोहोरिने स्रोतले बतायो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई नै अगाडि सारेपछि वाम एकताभित्र विवाद सिर्जना भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने यस विषयमा सहमति गरेर जाने दाउमा रहे पनि ओलीको हठकै कारण उक्त संम्भावना बढेर गएको हो ।

यता संविधानतः राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनको कार्यावधि संघीय संसद र प्रदेशसभाका सांसदले मतदान गर्ने निर्वाचक मण्डलबाट नयाँ राष्ट्रपति उपराष्ट्रपति चयन गरेपछि स्वतः अन्त्य हुने छ । दुई तहका सांसदको मतभार भने फरक हुने व्यवस्था छ । तर, यो संविधानले राष्ट्रपति र उपराष्ट्रपति दुवैलाई फेरी नयाँ व्यवस्थाअनुसार चुनिएर आउन रोक लगाएको छैन ।

त्यही सहज बाटो पछ्याउँदै राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन र सभामुख ओनसरी घर्तीको समेत कार्यकाल दोहोर्याउने चलखेल सुरु भएको स्रोतहरु बताउँछन् ।

सार्वजनिक रुपमा चर्चामा आएका राष्ट्रप्रमुख, उपप्रमखु दोहोर्याउने विषय आएपछि माओवादीले सभामुखसमेत दोहोर्याउनुपर्ने प्रस्ताव अघि सारेको छ । एमालेभित्रै देखिएका आकांक्षीहरुले नै उक्त कदमको विरोध गर्दै आएका छन् । विरोध गर्नेहरुमा एमाले नेता झलनाथ खनाल, माधवकुमार नेपाललले विरोध जनाएका छन् । उनीहरुले अब आफूहरुको राजनीतिक करियरसकिएकाले राष्ट्रपति बनेर अवकास लिन चाहेको बताएको स्रोतले बतायो । उनीहरुमाथि राष्ट्रपति बन्ने ईच्छा तिव्र रुपमा रहेको बताइएको छ ।

उता राष्ट्रपति बन्नको लागि ओलीको चाहनामात्र नभएको र राष्ट्रपति भण्डारी नै सक्रिए रहेको बुझिएको छ । राष्ट्रपति भण्डारी आफू नै राष्ट्रपति बन्न ओली नेतृत्वको सरकार निर्माण गर्न निर्वाचन आयोगलाई दबाब दिएकी छन् । उनले आयोगलाई नयाँ सरकार निर्माणको बाटो छिटो खुलाउन आग्रह गरेको बताइन्छ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवलाई बोलाएर पटक–पटक सरकार गठनको वातावरण बनाउन दबाव दिएकी भण्डारीले प्रतिनिधिसभाको समानुपातिकतर्फको मत परिणाम सार्वजानिक गर्न आग्रह गरेकी थिइन् । संवैधानिक जटिलताको व्याख्या गर्दै आयोगले राष्ट्रपतिको आग्रह भने मानेन । प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि आफ्नो निवासमा बोलाएर भण्डारीले नयाँ जनादेश अनुसार नयाँ सरकार गठनका लागि ठाँउ छोडिदिन आग्रह गरेकी छन् ।

आफू राष्ट्रपति बन्न भण्डारीले गत पुष २३ गते शीतल निवासमा रात्रि भोजको आयोजन गरेको स्रोत बताउँछ । उनले एमाले–माअ‍ोवादी केन्द्रका केही वरिष्ठ नेताहरुलाई बोलाएर रात्रि भोजको आयोजना गरेको खुलासा भएको छ । राष्ट्रपतिको आफ्नो रुचि र सक्रियता, अध्यक्ष ओलीको चाहाना र माओवादीको समेत सकारात्मक संकेत पाएपछि राष्ट्राध्यक्षको जिम्मेवारी रहेको संवैधानिक राष्ट्रपतिमा भण्डारी दोहोरिने लगभग पक्काजस्तै भएको छ । राष्ट्रपति चयनका लागि हुने निर्वाचनमा संघीय र प्रदेश सांसदहरूको मत एमाले र माओवादीको प्रस्ट बहुमत भएकाले भण्डारी फेरी निर्वाचित हुने संभावना बढेको एमाले निकट स्रोतले बतायो ।

माओवादीका नेताहरूले राष्ट्रपति दोहोरिने भएपछि उपराष्ट्रपति र सभामुखसमेत दोहोर्याउने प्रस्ताव संयुक्त बैठकहरूमा अनौपचारिक रुपमा गरिरहेको बताइएको छ । यदी राष्ट्रपति दोहोरिएमा सभामुख र उपराष्ट्रपति पनि स्वतः दोहोरिने उच्च स्रोतको दाबी छ । एमालेभित्रका असन्तुष्ट पक्षलाई एक महत्वपूर्ण जिम्मेवारी दिएर फकाउने प्रयास भइरहेको छ ।