अन्तर्राष्ट्रिय

दक्षिण कोरियाली राष्ट्रपति भन्छन्ः कोरियाली सम्बन्धमा सुधार हुन्छ भने उत्तरका नेतासँग वार्ता गर्न तयार छु

सोल । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले यदि दुई कोरियाको सम्बन्धमा सुधार हुन्छ भने आफू उत्तर कोरियाली नेतासँग भेटवार्ता गर्न तयार रहेको बताएका छन् ।

उनले भने, ‘हाल कोरियाली प्रायद्वीपमा देखिएको अशान्तिको अवस्थामा सुधार हुन्छ र सम्बन्धमा सुधार हुन्छ भने हामी भेटघाट र वार्ता गर्न तयार छौँ, त्यसका लागि म खुला नै छु ।’

गत वर्षमात्र दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित मुनले नयाँ वर्षका अवसरमा अर्थात् गत जनवरी १ मा दिएको शुभकामना सन्देशमा पनि उनले सम्बन्ध सुधारका लागि कोरियाली सम्मेलन (कोरिया समिट) को आयोजना गर्न सुझाव दिएका थिए ।

उनले अहिले नै दुई कोरियाको उच्च तहमा वार्ता गरी आवश्यक सम्बन्ध सुधारका साथै कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि प्रयास गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

उत्तर र दक्षिण कोरियाबीचको उच्चस्तरीय वार्ता मङ्गलबार दक्षिण कोरियामा सुरु भएको एक दिनपछि राष्ट्रपति मुनको यो धारणा आएको छ ।

आपसमा बिगत लामो समयदेखि नै सत्रुतापूर्ण सम्बन्ध रहेका यी दुई कोरियाबीच गएको कम्तीमा पनि दुई वर्षपछि मङ्गगलबार पहिलो पटक यति उच्चस्तरमा औपचारिक वार्ता सुरु भएको हो ।

यो वार्तापछि वातावरण निर्माण भएकोले सम्बन्ध सुधारका लागि थप केही गर्नुपर्नेमा दक्षिण कोरियाली राष्ट्रपति इनले जोड दिएका हुन् ।

मङ्गलबारको वार्तापछि उत्तर कोरियाले दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलमा आफ्नो सहभगिता रहने बताएको छ ।

उत्तर कोरियाले आफ्ना खेलाडी र प्रतिनिधिहरू फेबु्रअरीमा हुन लागेको सो शीतकालीन ओलिम्पिमा सहभागी हुन पठाउने भएको जनाएको हो । दुई वर्षपछि भएको भए पनि मङ्गलबारको वार्तापछि यी दुई देशको सम्बन्धमा सुधार आएको बताइएको छ ।

मङ्गलबार भएको छलफलमा विशेषगरी यसै खेलकूदका विषयमा बढी कुराकानी भएको थियो । छलफलका विषयवस्तुहरुको सीमितता रहेको दक्षिण कोरियाको भनाई छ ।

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणका बारेमा प्रसंग उठेपनि त्यसमा कुनै निर्णय नभएको र उत्तर कोरियाली वार्ता प्रतिनिधिले यस विषयमा आफूहरुले कुनै निर्णय दिन नसक्ने बताएका थिए ।