पु.समाचार

गहना र दुई छोरा लिएर २२ वर्षीया महिला बेपत्ता, दलालले लगेको आशंका

कञ्चनपुर । कञ्चनपुरकी एक महिला दुई छोरा र गरगहनासहित वेपत्ता भएकी छन् । शुक्लाफाँटा नगरपालिका–६, कसरौलका २६ वर्षीय चेतु रानाकी २२ वर्षीया पत्नी चैनीदेवी ११ दिनदेखि वेपत्ता भएपछि राना परिवार तनावमा परेका छन् । धेरैतिर खोजी गर्दा पनि श्रीमती र छोरालाई भेट्न नसकेको रानाले बताए ।

एघार दिनअघि परिवारका सदस्यलाई जानकारी नै नदिई उनकी श्रीमती २२ वर्षीया चैनीदेवी राना दुई छोरासहित गहना र लत्ताकपडा बोकेर बेपत्ता भएकी हुन् । आफन्त र सम्भावित ठाउँमा श्रीमतीको खोजी गरे पनि श्रीमती फेला पार्न नसकेको चेतुले बताए ।

आठ वर्षीय छोरा अजय र छ वर्षीय छोरा अवि सहित पुस १६ गतेदेखि श्रीमती वेपत्ता भएकी रानाको भनाई छ ।

खोजतलासका लागि परिवारका तर्फबाट नगरपालिकाको न्यायिक समिति र इलाका प्रहरी कार्यालय, झलारीमा निवेदन दिएका छन् । प्रहरीले बेपत्ता रानाको खोजी भइरहेको जनाएको छ ।

रानालाई चेलीबेटी बेचबिखनमा संलग्न दलालले बहकाएर लगेको आशंका परिवारजनले गरेका छन् ।