राजनीति

खुमलटारमा माओवादी अध्यक्ष र मसालका महामन्त्रीबीच भेट, दाहालले राखे यस्तो प्रस्ताव !

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहबीच वाम गठबन्धनको विस्तारका साथै राष्ट्रिय तथा आर्थिक एजेण्डामा समान धारणा बनाएर जाने विषयमा छलफल भएको छ ।

अध्यक्ष दाहाललाई भेट्न आज बिहान उनको निवास खुमलटार पुगेका महामन्त्री सिंहबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, वाम गठबन्धन र नेकपा (एमाले) र माओवादी केन्द्रबीच हुन लागेको पार्टी एकता र वाम गठबन्धनको विस्तारलगायतका विषयमा कुराकानी भएको थियो ।

महामन्त्री सिंह अध्यक्ष दाहालका राजनीतिक गुरु एवं नेपालको कम्युनिस्ट आन्दोलनका सम्मानित व्यक्तित्व हुन् । भेटका क्रममा उनीहरुबीच वाम गठबन्धनलाई कायम राखेर त्यसलाई अझ विस्तार गरेर अगाडि बढ्नेबारे कुराकानी भएको अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

भेटमा नेता सिंहले वामपन्थी मिलेर अघि बढ्दा मात्रै मुलूकमा राजनीतिक स्थिरता र विकास सुनिश्चित हुने कुरामा जोड दिएका थिए । भेटका क्रममा अध्यक्ष दाहालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वामपन्थी मिल्दा राम्रो नतिजा आएको र देशमा सकारात्मक सन्देश गएको बताउँदै राष्ट्रियसभा निर्वाचनमा पनि एमाले, माओवादी केन्द्र र मसालबीचको चुनावी तालमेललाई कायमै राखिने बताएका थिए ।

भेटमा दुवै नेता राष्ट्रियसभा निर्वाचनमा साझा उम्मेदवार खडा गर्दै वामपन्थी एकता र तालमेललाई बलियो बनाएर अगाडि बढ्न सहमत भए ।

उनीहरुबीच नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याउने र जनताको अपेक्षालाई सम्बोधन गर्ने विषयमा साझा कार्यक्रम बनाउने विषयमा समेत छलफल भएको थियो ।