उर्जा

सबस्टेशन निर्माणका लागि जग्गा अधिग्रहण

बाबियाचौर । मालिका गाउँपालिका–७ बिमस्थित डाँडाखेतमा सबस्टेशन निर्माण गर्न जग्गा अधिग्रहण गरिएको छ ।

जिल्लाको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि १३२ केभी क्षमताको सबस्टेशन निर्माण हुन लागेको हो ।

सबस्टेशन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले डाँडाखेतमा ५१ रोपनी जग्गा अधिग्रहण गर्न मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको छ । उन्नाइस जना जग्गाधनीलाई मंगलबारसम्म रु एक करोड ७९ लाख ७१ हजार मुआब्जा वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका लेखापाल विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

उहाँका अनुसार रु दुई करोड १७ लाख ५८ हजार बजेट प्राप्त भएकामा अब पाँचजना जग्गाधनीले मुआब्जा लिन बाँकी छ । मालिका र धौलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी नदी र सहायक खोलामा निर्माण हुन लागेका आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय लाइनमा जोड्ने उद्देश्यले सबस्टेशन निर्माण हुन लागेको वडाध्यक्ष रेशम जुक्जालीले बताए ।

नेपाल विद्युत् प्राधिकरणले सबस्टेशनका साथै डाँडाखेतदेखि रघुगंगा गाउँपालिका–३ राहुघाटसम्म २५ किलोमिटर प्रसारण लाइनसमेत निर्माण गर्न लागेको छ । सबस्टेशन र प्रसारण लाइन निर्माणका लागि रु दुई अर्ब बजेट आवश्यक पर्ने बताइएको छ । आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको विद्युत् प्राधिकरणले ठेक्का प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

यसैगरी, कालीगण्डकी कोरिडोर प्रसारण लाइनको टावर रहने स्थानका जग्गाधनीलाई मुआब्जा वितरणको तयारी भएको छ । म्याग्दी खण्डमा पर्ने जग्गाधनीलाई मुआब्जा वितरणका लागि रु एक करोड प्राप्त भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।