राजनीति

ओली र दाहालले मुख्यमन्त्री र राष्ट्रिय सभाका उम्मेदवारका लागि मापदण्ड बनाए, के छ मापदण्डमा ?

काठमाण्डौ । प्रदेशको मुख्यमन्त्री र राष्ट्रिय सभा उम्मेदवारका लागि एमाले र माओवादीले चार मापदण्डलाई आधार मान्ने भएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बुधबार बिहान बसेको बैठकमा ओली र माओवादी अध्यक्ष दाहालले कार्यदल सदस्यलाई चार मापदण्डका आधारमा काम गर्न निर्देशन दिएको एमाले नेता शंकर पोखरेलले बताए ।

‘चार मापदण्ड तोकेर यसैका आधारमा काम गर्न उहाँहरुले निर्देशन दिनुभयो,’ पोखरेलले भने ।

पोखरेलका अनुसार मुख्यमन्त्री र राष्ट्रिय सभा उम्मेदवार छान्न सो प्रदेशका स्थानीय तहमा पार्टीले जितेको संख्यालाई पहिलो आधार मानिनेछ ।

मुख्यमन्त्रीको निर्णय गर्दा प्रदेश सभामा पार्टीले पाएको सिट संख्याका साथै सो प्रदेशका मुख्यमन्त्री दाबेदारको व्यक्तिगत सम्भावना र कार्यक्षमतालाई आधार मान्नुपर्नेछ ।

‘यसरी निर्णय गर्दा पार्टी एकताको मर्मलाई ध्यानमा राख्नुपर्छ,’ पोखरेलले भने, ‘मुख्यमन्त्री र राष्ट्रिय सभा उम्मेद्वार छान्दा सन्तुलन पनि हुनुपर्छ भन्ने निर्देशन छ ।’

पोखरेलले कार्यदलले व्यक्तिका बारे निर्णय नगर्ने तर यस्तो गर्दा उपयुक्त हुन्छ भन्ने सुझाव दिने बताए।

‘प्रतिनिधि सभाजस्तो उम्मेदवार छान्दा हामी ६० र ४० प्रतिशत पनि गर्दैनौं, सो प्रदेशमा पाएको संख्यालाई आधार मान्छौं,’ पोखरेलले भने ।

अध्यक्षद्वयको निर्देशनपछि कार्यदलले राष्ट्रिय सभाको निर्वाचनमा साझा उम्मेद्वार, प्रदेश सरकारको गठन, प्रदेशको मूख्यमन्त्री, सभामूख लगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा रिपोर्ट पेश गर्नेछ ।

कार्यदलले भोलिदेखि नै काम सुरु गरेर छिटो रिपोर्ट पेश गर्ने र रिपोर्टभन्दा पहिल्यै पार्टी एकता भएमा कार्यदलको रिपोर्टसहित बाँकी जिम्मेवारी स्वतः एकीकृत तहको शीर्ष कमिटीमा जाने पनि माओवादी नेता बर्षमान पुनले जानकारी दिए ।