पु.समाचार

वैदेशिक रोजगार विभागद्वारा अनलाइन टोकन प्रणाली लागू

काठमाण्डौ । वैदेशिक रोजगार विभागले श्रमग्राम ताहचलमा व्यक्तिगत श्रम स्वीकृति (नयाँ, नवीकरण र लिगलाइजेसन) मा अनलाइन टोकन प्रणाली लागू गरेको छ । अब छिटो अनलाइन फारम भर्नेले छिटो काम हुने गरी टोकन नम्बर पाउनेछन् ।

विभागमा सेवाग्राहीको भीड बढेर सेवा सम्पादनमा समस्या आएपछि विभागले विभागको काठमाण्डौ कार्यालयमा टोकन प्रणाली लागू गरेको हो । अब अनलाइन फारम भर्दा नै सेवाग्राहीले टोकन नम्बर पाउनेछन् ।

टोकनअनुसार कति बजेदेखि कति बजेसम्म सेवा लिन कामदार श्रमग्राम पुग्ने भन्ने कुरा सिस्टमले नै जानकारी दिने विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए ।

यो सिस्टम लागू भएपछि श्रम ग्राममा व्यक्तिगत श्रम स्वीकृति लिनेको भीड घट्ने विश्वास गरिएको छ । त्यसैगरी दलालका आडमा अनियमित रुपमा हुने सेटिङ पनि कम हुने अपेक्षा सरकारको छ ।