खेलकुद

उत्तर कोरिया शीतकालीन ओलम्पिक खेलमा सहभागी हुने

सोल । उत्तर कोरियाले दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलमा आफ्नो सहभगिता रहने बताएको छ ।

दुई कोरियाबीच मङ्गलबार दक्षिण कोरियामा भएको वार्तापछि उत्तर कोरियाले सो जानकारी गराएको हो । उत्तर कोरियाले आफ्ना खेलाडी र प्रतिनिधिहरू फेबु्रअरीमा हुन लागेको सो शीतकालीन ओलिम्पिमा सहभागी हुन पठाउने भएको जनाएको हो ।

सो खेलकूदमा उत्तर कोरियाले पठाउने भनिएको उक्त टोलीमा खेलाडी, प्रतिनिधि र समर्थकका साथै अन्य नागरिक पनि हुने उत्तर कोरियाको वार्ता टोलीका एकजना सदस्यले सोलमा जानकारी दिएका छन् ।

उत्तर कोरिया र दक्षिण कोरियाका उच्च अधिकारीहरूबीच सन् २०१५ पछि अर्थात दुई वर्षयता पहिलोपटक वार्ता भएपछि यो घोषणा भएको हो ।

मङ्गलबार भएको उनीहरूको छलफलमा विशेषगरी यसै खेलकूदका विषयमा बढी कुराकानी भएको थियो । छलफलका विषयवस्तुहरुको सीमितता रहेको बताइएको छ ।

उनीहरूको छलफल दक्षिण कोरियामा हुने भनिएको उक्त शीतकालीन ओलिम्पिकमा उत्तर कोरियाका खेलाडीहरूलाई कसरी सहभागी गराउने भन्नेबारे बढी मात्रामा केन्द्रित भएको थियो ।

यी दुई देशबीचको वार्ता दक्षिण कोरियाको अधिनमा रहेको दुई कोरियाली सीमा क्षेत्रमा अवस्थित पानुमजोम नगरमा भएको हो ।

यस बैठकको निष्कर्षका बारेमा केही बताइएको छैन । तर उत्तर कोरियाले भने सो खेलकूदमा सहभागी हुने जानकारी सुरुमै गराएकोले वार्ताको वातावरण राम्रो बनेको बताइएको थियो ।