राजनीति

केसीको समर्थनमा उत्रिएका मिश्रले भनेः उहाँलाई गिरफ्तार गर्ने अधिकार सरकारलाई छैन

काठमाण्डौ । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सरकारमाथि डा. गोविन्द केसीलाई गिरफ्तार गर्ने कुनै अधिकार नभएको बताएका छन् ।

अदालतको मानहानीको मुद्दा लागेपछि सोमबार पक्राउ परेका डा. केसीको समर्थनमा मंगलबार बिहान माइतिघर मण्डलामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्दोष डा. केसीलाई तत्काल रिहाई गर्न माग गरेका हुन् ।

डा. केसीले उठाएको आवाज सर्वोच्च र सिंहदरबारले पनि सुन्नुपर्ने भन्दै मिश्रले भने, ‘उनलाई रिहा गरेर उनले जुन गम्भीर आरोप लगाएका छन्, त्यसबारे छानविन हुर्नैपर्छ ।’

डा. केसीले अभिव्यक्तिमा केही आक्रोश मिसिएको भए पनि त्यसलाई अदालतको मानहानीका रुपमा लिन नहुने उनले बताए । डा. केसीको मनसाय हेरिनुपर्ने भन्दै मिश्रले भने, ‘उहाँको मनसाय भनेको स्वास्थ्य सेवामा सुधार होस् भन्ने हो । अभिव्यक्ति दिने क्रममा केही आक्रोश मिसियो होला । त्यसैको भरमा अपराधी जसरी गिरफ्तार गर्ने अधिकार सरकारलाई छैन ।’

सरकारको यो कदम लज्जाजनक भएको भन्दै मिश्रले डा. केसीको माग सम्बोधन गर्न सरकारलाई सचेत गराए । उनले भने, ‘सर्वोच्चले आदेश दिएपछि वर्षौंसम्म कारबाही नभएको उदाहरण छन् । तर, डा. केसी जस्तो निष्ठा बोकेका व्यक्तिलाई रातारात हठात गिरफ्तार गरियो, यो निन्दनीय छ । सरकारका लागि लज्जाजनक विषय हो ।’

न्यायालय, कर्मचारीतन्त्रका साथै स्वतन्त्र रहनुपर्ने निकायहरु राजनीतिकरण गरिएको र त्यही राजनीतिकरणको परीणाम यो घटना पनि भएको मिश्रले बताए ।