अन्तर्राष्ट्रिय

समान तलब नपाएको भन्दै बीबीसीकी सम्पादकले दिईन राजीनामा

एजेन्सी । बीबीसी चिनियाँ सेवाकी सम्पादक क्यारी ग्रेसीले असमान तलबको मुद्दालाई लिएर राजीनामा दिएकी छन् । उनका अनुसार बीबीसीमा पुरुष कर्मचारीको तुलनामा महिलालाई कम तलब दिइएको छ । तीन वर्ष बीबीसीमा काम गरेकी उनले एक खुला पत्रमा बीबीसी कर्पोरेशनमा ‘गोप्य र गैरकानुनी तलब संरचना’ रहेको आरोप लगाएकी छन् ।

डेढ लाख बेलायती पाउण्डभन्दा धेरै तलब पाउने कर्मचारीमा दुई तिहाई पुरुष भएको जानकारी पाएपछि बीबीसीमाथिको विश्वासमा संकट आएको उनले बताइन् ।

बीबीसीले भने संस्थानमा महिला कर्मचारीहरुमाथि कुनै भेदभाव नभएको बताएको छ । ग्रेसीका अनुसार उनले बीबीसी चीन सेवाको सम्पादकबाट राजीनामा दिएकी छन् तर, संस्थानमा रहिरहने छन् । टीभी न्यूजरुममा आफ्नो पूर्वभूमिकामा फर्किने तयारीमा रहेकी उनले पुरुषसरह तलब पाउने आश गरेकी छन् ।

गत जुलाइमा बीबीसीले वार्षिक डेढ लाख पाउण्डभन्दा बढी तलब खाने कर्मचारीहरुको तलब सार्वजनिक गर्नुपरेको थियो ।

बीबीसीमा दुई पुरुषले अन्तर्राष्ट्रिय सम्पादक महिलालेभन्दा कम्तिमा ५० प्रतिशत बढी तलब पाउने थाहा पाउँदा आफू निकै हताश भएको ग्रेसीले बताएकी छन् ।

बीबीसी अमेरिकाका सम्पादक जोन सेपेलले दुईदेखि साढे दुई लाख पाउण्डको बीचमा तलब पाउँथे भने मध्यपूर्वका सम्पादक जेरेमीको तलब डेढदेखि २ लाख पाउण्डको बीचमा थियो ।

यद्यपि यो सूचीमा ग्रेसीको नाम थिएन, यसको अर्थ उनको तलब वार्षिक डेढ लाख पाउन्ड छैन । ग्रेसीले आफ्नो खुलापत्रमा तलब बृद्धि नभई बराबरी चाहिएको बताएकी छन् ।