राजनीति

पार्टी एकता संयोजन समिति बैठक स्थगित, यस्तो छ खास कारण

काठमाण्डौ । आइतबार बस्ने भनिएको नेकपा एमाले र माओवादी केन्द्रको एकता संयोजन समिति बैठक स्थगित भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मौसम प्रतिकुलताका कारण काठमाण्डौ आउन नसकेपछि बैठक बस्न ढिलाई भएको हो ।

दाहाल गृह जिल्ला चितवनमा रहेकाले खराब मौसमका कारण जहाज नउडेपछि रोकिएका हुन् । अध्यक्ष दाहाल आइतबार सडकमार्ग हुँदै काठमाण्डौ आउँदैछन् ।

उनी काठमाण्डौ आएपछि राजनीतिक भेटघाट हुने सम्भावना भने छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी सचिवालय र अध्यक्ष दाहालको निजी सचिवालयले दुई अध्यक्षहरूबीच भेट हुने बताए ।

‘उहाँ आएपछि भेटघाट हुन पनि सक्छ तर टुंगो लागेको छैन’, अध्यक्ष ओलीका प्रेस सहयोगी चेतन अधिकारीले भने । माओवादी केन्द्रका अध्यक्ष दाहालका प्रेस सहयोगी मनहरि तिमल्सिनाले पनि काठमाण्डौ आएपछि भेटबारे टुंगो लाग्ने जानकारी दिए ।

पार्टी एकता संयोजन समितिमा एमालेबाट अध्यक्ष ओलीसहित नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल छन् । समितिमा माओवादी केन्द्रबाट अध्यक्ष दाहालसहित नेताहरू नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल छन् ।

नयाँ सरकार गठन र पार्टी एकता प्रक्रियालाई सँगसँगै अगाडि बढाउन चाहेका दुई पार्टी एकताका विषयमा समय लिएरै छलफल गर्ने निष्कर्षमा पुगेका छन् ।

एमाले अध्यक्ष ओली आगामी २६ गते उपचारका लागि थाइल्यान्ड जाँदैछन् । त्यसअघि एकताका एजेन्डा तय गर्ने तयारीमा नेताहरू छन् ।