खेलकुद

रोनल्डोले छोड्लान त रियल मड्रिड ? यसो भन्छन् प्रशिक्षक जिदान

एजेन्सी । फुटबल स्टारहरु क्लब छोडने होडबाजी चलिरहेको खबर सार्वजनिक हुन थालेको छ ।

पछिल्लो पटक रियल मड्रिड स्टार क्रिस्टियानो रोनाल्डो आफ्नो पुरानै क्लब म्यानचेस्टर युनाइटेडमा फर्कन सक्ने हल्ला चलेको थियो । तर ती हल्लाहरु अफवाह मात्रै भएको रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले प्रष्ट पारेका छन् । आइतबार सेल्टा भिगोसँगको खेलको पूर्वसन्ध्यामा जिदानले उक्त खुलासा गरेका हुन् ।

फुटबल स्टार रोनाल्डोलाई म्यानचेस्टर युनाइटेडले भित्र्याउन चाहेको भए पनि रोनाल्डो भने रियल छाडेर अन्यत्र नजाने जिदानले बताएका छन् । रोनाल्डो सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिडमा कीर्तिमानी रकममा आएका थिए ।

गएको समरमा स्पेनी अधिकारीले कर छलेको आरोप लगाएपछि रोनाल्डोले रियल मड्रिड छाड्ने हल्ला चलेको थियो ।
त्यस्तै फ्रेन्च क्लब पिएसजीले पनि ३२ वर्षीय स्टार रोनाल्डोलाई भित्र्याउन चाहेको खबर आएको छ ।

तर जिनेदिन जिदान भने रोनाल्डोले छोड्ने सम्भावना नरहेको बताउँछन्, ‘म रोनाल्डो बिनाको रियल मड्रिड कल्पना गर्न पनि सक्दैन, साँच्चै नै सकिँदैन ।’