मनोरञ्जन

स्टार सिजन–२ को उपाधि लुक्लाका सुनकुमारको पोल्टामा

सोलुखुम्बु । सोलुखुम्बु गायन स्टार सिजन–२ को उपाधि लुक्लाका सुनकुमार तामाङले जितेका छन् ।

दर्शकको मत, निर्णायकको अंक तथा आयोजकका तर्फबाट गरिएको मूल्यांकनका आधारमा तामाङ शनिबार पहिलो तारा बनेका हुन् । आफ्ना छ प्रतिस्पर्धीलाई पछि पार्दै तामाङले प्रतियोगिता जितेको फ्रेण्डसिप युथ क्लबका अध्यक्ष महेश किरातीले जानकारी दिए । तामाङले बजाज कम्पनीको मोटरबाइकका साथमा रु १० हजार प्राप्त गरेका छन् ।

प्रतियोगितामा विनोद राई उपविजेता तथा भोजकुमार राई तृतीय स्थानमा आएका छन् । डोमा शेर्पा, खगिन्द्र नाछिरिङ, रञ्जना राई र केशव राई क्रमशः चौथो, पाँचौँ, छैटौँ र सातौँ स्थानमा रहनुभयो । द्वितीय र तृतीय हुनेले क्रमशः रु ३० हजार र रु २० हजार तथा अन्यले रु पाँच पाँच हजार प्राप्त गरेका छन् ।

जिल्लाका विभिन्न स्थानमा लुकेर रहेको गायन प्रतिभालाई बाहिर ल्याउने उद्देश्यसहित क्लब केन्द्रीय कार्यालय सोलुखुम्बले प्रतियोगिता आयोजना गरेको हो । सोलुखुम्बुका हकमा गायन प्रतियोगितामध्ये यो सबैभन्दा ठूलो पुरस्कार राशिको प्रतियोगिता हो । सोलुखुम्बु गायन स्टार प्रथम मौसममा प्रवेश राई विजेता बनेका थिए ।

गायिका कुन्ती मोक्तानले यस्ता प्रतियोगिताले सांगीतिक क्षेत्रमा अघि बढ्न चाहनेका लागि निकै महत्व राख्ने र उपाधि जित्नु मात्र ठूलो कुरा नभई प्रतिभालाई निरन्तरता दिँदै अगाडि बढ्नु प्रमुख रहेको बताए । शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको अन्तिम चरणमा गायिका मोक्तान, संगीतकार तथा गायक वसन्त सापकोटा र गायक राजेशपायल राई सोलुखुम्बु आएका थिए ।