शिक्षा

प्रारम्भिक कक्षा पढाइ प्रभावकारी बन्दै

नेपालगञ्ज । नेपाल सरकारद्वारा बाँके जिल्लामा सञ्चालित राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

सहायक जिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापाका अनुसार जिल्लाका सबै ३८१ विद्यालयका कक्षा १ देखि ३ सम्मका बालबालिकाको पठनपाठनलाई जगदेखि नै बलियो बनाउने उद्देश्यका साथ सन् २०२० सम्म सो कार्यक्रम सञ्चालनमा ल्याइएको छ । पहिलो चरणअन्तर्गत १६ जिल्लामा लागू गरिएको सो कार्यक्रम बाँके, कञ्चनपुर, कास्की, सप्तरी, मुस्ताङ र भक्तपुरमा सघन कार्यक्रमका रुपमा सञ्चालन हुँदै आएको छ ।

कार्यक्रमअन्तर्गत १ देखि ३ कक्षाका विद्यार्थीलाई सहज शैक्षिक सामग्रीका माध्यमबाट तालीमप्राप्त शिक्षकद्वारा अध्यापन गराइने, विद्यार्थीका अभिभावकसहितको टोली पठाई समूह गठन गरिएको, दौँतरी शिक्षकको व्यवस्था गरिएको तथा विद्यालय व्यवस्थापन समितिको कार्ययोजनाका आधारमा प्रत्येक विद्यालयलाई रु दुई दुई लाख अनुदान सहयोग उपलब्ध गराउँदै आएको बाँके युनेस्कोका अध्यक्ष परवेजअली सिद्धिकीले बताए ।

जिल्लामा अहिलेसम्म सो कार्यक्रमअन्तर्गत ६७८ टोल पढाइ समूह गठन गरिएको तथा नौ हजार ९२१ दौँतरी शिक्षकको व्यवस्था गरिएको छ । विशेषतः शिक्षाप्रति खासै अभिरुचि नराख्ने जिल्लाका मधेशी र मुसलमान समुदाय बसोबास गर्ने क्षेत्रमा कार्यक्रम प्रभावकारी बनाउने प्रयास गरिएको छ । यसको सकारात्मक प्रयाससमेत अहिले ती समुदायमा देखिएको छ ।

कार्यक्रम थालनी हुनुअघि आफ्ना छोराछोरीलाई विद्यालय नपठाउने र पठाए पनि उनीहरुको पढाइप्रति खासै अभिरुचि नराख्ने अभिभावक अहिले शिक्षाप्रति सकारात्मक हुँदै गएको पाइएको सहायक जिशिअ थापा बताउँछन् ।