राजनीति

पार्टी एकता अन्यौलमा, दाहाल भेट्न ओली आतुर !

काठमाण्डौ । पटक–पटक पार्टी एकता गर्ने भनेर हल्ला चलिरहेको नेकपा एमाले र माओवादी केन्द्रको तालमेल अलमलमा परेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच हुने भनिएको भेटवार्ता लम्बिदै भएपछि पार्टी एकता गर्ने विषय ओझेलमा पर्दै गएको हो ।

अध्यक्ष दाहाल चितवनमा रहेका कारण हिजो(शनिबार) हुने भनिएको भेटवार्ता पनि हुन सकेन । अध्यक्ष ओली दाहालसँग भेट गर्न व्यग्र प्रतिक्षामा रहे पनि मौसमका कारण हवाई उडान प्रभावित भएकाले उक्त भेट सम्भव भएको छैन । मौसममा सुधार आएपछि दाहाल चितवनबाट आज काठमाण्डौ फर्किदैछन् । उनीहरुबीच आज भेट हुने बताइएको छ । दुई पार्टीका अध्यक्षको भेटपछि मात्र पार्टी एकता संयोजन समितिको बैठक बस्ने बताइएको छ ।

ओलीले पार्टी एकताका विषयमा पार्टीभित्र खासै छलफल चलाएका छैनन् । ओलीको एकल निर्णयबाट एमालेका केही वरिष्ठ नेताहरु आजित भइसकेका छन् । एमालेका वरिष्ठ नेता झलनाथ खनाल पनि ओलीको व्यवहारबाट खासै सन्तुष्ट छैनन् । उनले केही दिनअगाडि भनेका थिए, ‘एकीकरण गर्ने विषय पार्टीभित्र त्यति बहसको विषय बनेको छैन । दुई पार्टीका अध्यक्ष(केपी ओली र पुष्पकमल दाहाल)बीच छलफल चलिरहेको होला । त्यस विषयमा मलाई खासै जानकारी छैन । दुई अध्यक्षको आधिकारिक निर्णय आएपछि पार्टीभित्र बहस चल्छ ।’  नेता खनालको अभिव्यक्तिबाट स्पष्टै थाहा हुन्छ कि अ‍ोली पार्टीमा खासै छलफल चलाउँदैनन् भनेर ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि हुने भनिएको पार्टी एकताको विषय झन्झन् ओझेलमा पर्ने संकेत देखिएको छ । एमालेभित्रको पदमोहका कारणले पनि पार्टी एकता गर्न समस्या पर्दै आएको छ । पार्टी अध्यक्ष र प्रधानमन्त्री एमाले अध्यक्ष ओली नै बन्ने एमाले नेताहरुको अभिव्यक्तिका कारण माओवादी सतर्क बन्दै गएको छ । नेपाली काँग्रेसले माअ‍ोवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्र बन्न प्रस्ताव गरे पनि उनले अस्वीकार गर्दै आएका छन् । दाहालले भने पार्टी एकीकरण गरेर ओली प्रधानमन्त्री बने आफू पार्टी अध्यक्ष लिन मन्जुर भएको घोषणा गरेका छन् । दुई ठुला पार्टी एकीकरण गर्ने विषयमा सामान्य विषय नभएकाले पनि समय लागेको कतिपय नेताहरुको बुझाइ छ । ओली र दाहालको आजको भेटले पार्टी एकता संयोजन समिति बैठक कहिले बस्ने भन्ने विषयमा अन्तिम टुंगो लाग्ने छ ।

पार्टी एकता संयोजन समितिमा अध्यक्ष ओली र दाहालसहित झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल एमालेबाट छन् । माओवादीबाट नारायणकाजी श्रेष्ठ र रामवहादुर थापा बादल छन् ।