पु.समाचार

भूकम्प पीडितको घरको नक्सा निःशुल्क पास : भुषाल

पाल्पा । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक युवराज भुसालले स्थानीय तहले भूकम्प पीडितको घरको नक्सा निःशुल्क पास गरिदिने बताएका छन् ।

उनले भूकम्प पीडितका आवास निर्माणका लागि ढुङ्गा, गिट्टी, बालुवा र काठ सहजरुपमा उपलब्ध गराउने जानकारी दिए ।

प्राधिकरणद्वारा शनिबार आयोजित जिल्लाको सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रममा भुसालले जनप्रतिनिधिको नेतृत्वमा भूकम्प पीडितका घर बनाउने काम अघि बढाएको र स्थानीय तहमा प्राविधिक पठाएको बताए । स्थानीय तहमा आएका प्राविधिकलाई जनप्रतिनिधिले वडा वडामा पठाएर काम अघि बढाउन भुसालले अनुरोध गरे।

भूकम्प प्रभावित क्षेत्रमा खटिएका इञ्जिनियरलाई १० दिने तालीम र सव इञ्जिनियरलाई दुई दिनको तालीमसमेत दिई स्थानीय तहमा पठाइएको छ । स्थानीय तहका प्राविधिकलाई पनि भूकम्प प्रतिरोधात्मक भवन निर्माणसम्बन्धी तालीम दिइने उनले बताए । प्राधिकरणद्वारा भूकम्प प्रतिरोधात्मक घर बनाउन सिकर्मी डकर्मीलाई सात दिनको तालीम प्रदान गर्न लागिएको छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले भूकम्प पीडित आवास बनाउन झण्झटिलो रहेकाले यसलाई सुधार गरी अघि बढ्नुपर्ने बताए । कार्यक्रममा पाल्पाका स्थानीय तहका प्रमुख तथा प्रशासकीय अधिकृत, राजनीतिक दल, प्राविधिक, जिल्ला समन्वय समितिका पदाधिकारी र सञ्चारकर्मीले छिटो छरितो रुपमा भूकम्प पीडितका घर बनाउनुपर्नेमा जोड दिएका थिए ।