अन्तर्राष्ट्रिय

ट्रम्पको बचाउ गर्दै के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाण्डौ । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले आफूले राष्ट्रपति डोनल्ड ट्रम्पको मानसिक स्वास्थ्यबारे कहिल्यै प्रश्न नगरेको बताएका छन् ।

एउटा विवादास्पद पुस्तकका लेखकले ह्वाइट हाउसका कर्मचारीले ट्रम्पलाई केटाकेटी जस्तो हेर्ने गरेको बताएपछि टिलर्सनको पछिल्लो भनाइ सार्वजनिक भएको हो ।

माइकल वूल्फले फायर एण्ड फ्युरीः इन्साइड दि ट्रम्प ह्वाइट हाउस शीर्षकको आफ्नो पुस्तक करिब २०० वटा अन्तर्वार्तामा आधारित रहेको बताएका छन् ।

प्रकाशन रोक्ने ट्रम्पको प्रयत्नका बावजुद उक्त पुस्तक चाँडै बजारमा आएको छ । ट्रम्पले उक्त पुस्तक दिक्कलाग्दो र झुटो भएको बताउँदै वूल्फलाई पूर्णरूपमा हरूवा भनेका छन् ।

आफूलाई चोट पुर्‍याउन सञ्चारमाध्यम र अरूले उक्त पुस्तकलाई अघि बढाएको ट्रम्पले दावी गरेका छन् । ट्रम्पले थपेका छन्, उनीहरूले चुनाव जित्ने प्रयास गर्नुपर्छ ।

ट्रम्पलाई पटक–पटक मूर्ख भन्दै आएका विदेशमन्त्री टिलर्सनले यो वर्षको शुरूतिर सीएनएनलाई भने, उनको मानसिक स्वास्थ्यबारे मैले प्रश्न गर्नुपर्ने कुनै कारण छैन ।

टिलर्सनले टम्प विगतका राष्ट्रपतिहरू जस्ता नभएको बताए। उनले भने, मेरो विचारमा त्यो सर्वविदितै छ । त्यसैकारणले पनि शायद अमेरिकी जनताले उनलाई रोजे ।

टिलर्सनले राष्ट्रपतिसँग आफूले ुसम्बन्ध विकसित गरिरहेकोु बताएका छन् । एउटा विवादपछि आफूले ह्वाइट हाउस छाड्न लागेको भन्ने अड्कलबाजीको खण्डन गर्दै उनले २०१८ भरि नै सेवा गर्ने बताए ।