राजनीति

तल्लो तहका नेतालाई निर्देशन दिँदै एमाले नेताले भनेः ९ रेक्टरको भूकम्प आएपनि पार्टी एकता टुट्दैन

पोखरा । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले आफ्नो पोजिसनलाई ध्यानमा राखेर सार्वजनिक रुपमा नबोल्न दोश्रो तहका नेताहरुलाई आग्रह गरेका छन् ।

प्रेस चौतारी र प्रेस सेन्टर कास्कीले शनिबार गरेको पत्रकार सम्मेलनमा सचिव ज्ञवालीले पार्टीका नेताहरुको सक्रियता, क्षमता, दक्षतालाई सम्मान दिएरै पार्टीमा जिम्मेवारी दिने बताए । एमाले र माओवादी दुबै पार्टीले पार्टीको पोजिसनलाई अडानका रुपमा नलिएको र आगामी दिनमा पनि नलिने स्पष्ट पारे ।

उनले भने, ‘अहिलेको आवश्यक्ता भनेको नेता ब्यबस्थापन र पार्टीको पोजिसन हैन, भद्रगोल देशको ब्यबस्थापन हो । त्यसैले दुई पार्टी एकता हुनैपर्छ र हुन्छ पनि ।’

ज्ञवालीले ८–९ रेक्टर स्केलको भूकम्प आएपनि पार्टी एकता नतोडिने दाबी गरे । देशी विदेशी चलखेल र अवरोध छिचोल्दै फागुनसम्म पार्टी एकता हुने उनको दाबी छ ।

दुबै पार्टी अध्यक्षले एकताको खाका बनाएपछि एकता संयोजन समितिको बैठक बसेर अन्तिम आकार दिने र पार्टी बैठकले अनुमोदन गर्ने उनले जानकारी दिए ।

अहिले पार्टी एकता भाँड्ने नियतले अनुमानको खेती र टिका टिप्पणी हुने गरेको सुनाउँदै एमाले सचिव ज्ञवालीले दुई अध्यक्ष प्रचण्ड र ओली नभेट्दैमा र एकता संयोजन समितिको बैठक नबस्दैमा एकता नभाँडिने दाबी थियो ।

एमाले सचिव ज्ञवालीले शेरदबहादुर देउवा नेतृत्वको सरकार संघीयताप्रति ईमान्दार रहेको आरोप समेत लगाएका छन् । प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्न नसकेको भन्दै उनले भने, ‘सरकार संघीयताप्रति इमान्दार छैन, यसप्रति सरकार र सरकारबादी दलहरुको ओंठेभक्ति मात्रै हो ।’

प्रदेश मुकाम अस्थायी रुपमा तोक्न लागिएको भन्दै उनले तरंगित हुन नपर्ने बताए । साथै प्रदेश मुकाम तोक्न माग गर्दै भइरहेको आन्दोलन स्थगित गर्न आग्रह गरे ।