पु.समाचार

चितवनमा पानीचराको गणना शुरु

रत्ननगर । नेपालका विभिन्न जल क्षेत्रमा आजदेखि जलपक्षी (पानीचरा)को गणना शुरु हुँदैछ ।

सिमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाई यसको संरक्षणका लागि नयाँ रणनीति बनाउन चरा गणना गर्न लागिएको हो । गणनापछि तयार पारिएको प्रतिवेदन नीति निर्माणतहमा समेत पेश हुने चराविज्ञ तथा पक्षीविद् संघ नेपालका प्रमुख डा हेमसागर बरालले जानकारी दिए ।

उनकाअनुसार आजदेखि शुरु हुने चरा गणना कार्य माघ ७ गतेसम्म चल्ने छ । गणनामा ३०० स्वयंसेवक तथा चराविज्ञको सहभागिता रहने डा बरालले बताए ।

आज पहिलो दिन शुक्लाफाँट र कोशीटप्पुबाट गणना शुरु हुने भन्दै डा बरालले अन्य क्षेत्रमा आजदेखि माघ ७ गतेभित्रमा आआफ्नो अनुकूलतामा देशैभरिको सिमसार क्षेत्रमा गणना हुने जानकारी दिए ।

चितवनमा भने केही दिनमा गणना थालिने चराविज्ञ तथा वर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु बिडारीले बताए । अघिल्लो गणनामा चितवनमा ५४ प्रजातिका जलपक्षी भेटिएको थियो । तर चराको संख्या भने घट्दो क्रममा रहेको चराविज्ञले बताएका छन् ।

डा बरालले चराको संख्या घट्दो क्रममा रहेको भन्दै यसतर्फ गम्भीर हुनुपर्नेमा जोड दिए ।

यसपटक सिमसार सूचीमा सूचीकृत नेपालको पाँच वटा तालमा समेत चराको गणना हुनेछ । मुख्य गरी चितवनको विसहजारी ताल, कपिलवस्तुको जगदिशपुरताल, पोखराको फेवाताललगायत क्षेत्रमा पनि चराको गणना हुनेछ ।

अघिल्लो अनुगमनमा चितवनमा सिमसार क्षेत्रभरि गरेर कुल १० हजार ३२ चरा गणना गरिएको वर्ड एजुकेशन सोसाइटी चितवनले जनाएको छ । त्यसको अघिल्लो वर्ष सिमसार क्षेत्रमा ११ हजार २६० वटा चरा भेटिएको थियो । जिल्लामा चराको संख्या ६३४ प्रजातिको अभिलेख छ । नेपालमा ८८७ प्रजातिका चरा छन् । अहिले विभिन्न देशबाट चरा नेपाल बसाइँ सरेर जाडो छल्न नेपाल आएका छन् ।