पर्यटन/संस्कृति

दाङमा हवाई सेवा सञ्चालन हुने

तुलसीपुर, दाङ । लामो समयदेखि अवरुद्ध भएको दाङको हवाई सेवा पुनः सञ्चालन हुने भएको छ ।

आउँदो आइतबारदेखि समिट एयरले तुलसीपुरदेखि काठमाडौँका लागि हप्तामा दुईपटक उडान भर्ने सहमति जनाएपछि हवाई सेवा सञ्चालन हुने भएको हो ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेय र यस क्षेत्रका जनप्रतिनिधिको पहलमा अवरुद्ध हवाई सेवा सञ्चालनका लागि पहल गरिएको हो ।

यसैबीच पुस २३ गते विमान सेवा शुरु गर्नका लागि टिकट बुकिङ पनि खुला गरिएको छ । अहिलेका लागि दाङमा तुलसीपुर उपमहानगरपालिकामा टिकट काटिने र तत्काल दाङका विभिन्न ठाउँमा एजेन्सीमार्फत टिकट बिक्री गर्ने काम शुरु हुने नगरप्रमुख पाण्डेले जानकारी दिए ।

तत्कालका लागि दाङबाट काठमाडौँका लागि रु छ हजार ८०० देखि रु सात हजार २०० सम्म भाडा तोकिएको छ भने काठमाडौँबाट दाङका लागि रु सात हजार २०० भाडा निर्धारण गरिएको छ ।

दाङमा टिकट बिक्री गर्नका लागि तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेललाई ९८५७८२२३७७ तथा काठमाडौँमा विष्णु दुलाललाई ९८०२०८००४० मा सम्पर्क गर्न सकिने बताइएको छ ।