अन्तर्राष्ट्रिय

अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सुरक्षा सहयोग रोक्ने

वासिङ्टन डिसी । अमेरिकाले पाकिस्तानलाई बिगत लामो समयदेखि दिँदै आएको सुरक्षा सहायतासम्बन्धी बजेट रोक्ने जनाएको छ ।

पाकिस्तानले इस्लामिक अतिवादी सशस्त्र समूहलाई प्रतिबन्ध लगाउने र उनीहरुका विरुद्धका कारबाही पर्याप्त रुपमा नगरेको भन्दै सो सहायता रोक्ने निर्णय अमेरिकाले गरेको समाचारमा जनाइएको छ ।

पाकिस्तानमा आतङ्क मच्चाइरहेका हक्कानी नेटवर्क र अफगानिस्तानका तालिबानका विरुद्धमा पाकिस्तानले सशक्त रुपमा काम गर्न नसकेको अमेरिकी विदेश मन्त्रालयको आरोप छ ।

उनीहरुका बिरुद्ध सशक्त रुपमा कारबाही नगर्दासम्म अमेरिकाले दिँदै आएको उक्त सहायता निलम्बन गर्ने अमेरिकी विदेश मन्त्रालयले बताएको समाचारमा जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट अरबौँ डलरको सहयोग लिएको भए पनि पाकिस्तानले आतङ्कवादीलाई कारबाहीको सट्टा शरण दिएको आरोप लगाउनुभएको थियो ।

यो साताको शुरुमा राष्ट्रपति ट्रम्पको यस्तो अभिव्यक्ति आएपछि पाकिस्तानको सो सहयोग रोक्ने बारेमा विशेष चर्चा सुरु भएको थियो ।

उता पाकिस्तानले भने इस्लामिक अतिवादीहरुका विरुद्धमा आफूले कारबाही जारी नै राखेको र ती सञ्जालहरूसँगको लडाईंमा देशले ठूलो क्षति ब्यहोरिहेको दाबी गर्ने गरेको छ ।

पाकिस्तानले आफ्नै देशमा लुकेर बसेका र अफगानिस्तानको सीमा क्षेत्रमा रहेका अफगान तालिबान र उसका सहयोगीहरूलाई अफगानिस्तानमा हमला नरोकेको गुनासो अमेरिकाले गरेको छ ।

पाकिस्तानले भने ती तालिबानहरुबाट आपूm नै पीडित भएको र आफ्नो तर्फबाट कसैलाई कतैतर्फ पनि आक्रमण गर्ने अवस्था नदिएको जानकारी दिएको छ ।

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएदेखि नै उनले पाकिस्तानको यो कार्यको आलोचना गर्दै आएका छन् ।

उनले मुस्लिम अतिवादका विरुद्धमा पाकिस्तानले सशक्त र कडा कदम नचालेको तर अमेरिकाले भने सोही कार्यका लागि ठूलो आर्थिक सहायता पु¥याउँदै आएको बताउँदै आएका छन् ।

अमेरिकाको विदेश मन्त्रालयले पाकिस्तानले ती मुस्लिम अतिवादी लडाकूहरुका बिरुद्धमा कडा कदम नचाल्दासम्म सुरक्षा सहायता रोक्ने निर्णय गरेको बताइएको छ ।

तर अहिले नै के कति मात्रामा उक्त सहायता रकम वा सहायता रोक्न लागिएको हो भन्ने बारेमा भने केही बताइएको छैन ।

सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको न्युयोर्कमा भएको हिंसात्मक हमलापछि पाकिस्तान पनि आतङ्कवाद विरुद्धको अमेरिकी अभियानमा जोडिएको थियो ।

त्यस समय अल कायदा भनिने आतङ्कवादी संगठनले न्युयोर्कमा हमला गरेको थियो । सो हमलाका विरोधीहरुलाई कारबाही गर्नेभन्दै पाकिस्तानले अमेरिकाबाट अरबौँ डलर सहायता प्राप्त गर्ने गरेको छ ।