राजनीति

बालुवाटारमा देउवा र दाहालबीच चर्काचर्की !

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्षबीच चर्कार्की भएको छ ।

बिहीबार प्रधानमन्त्रीले राष्ट्रिय सभाको निर्वाचन, प्रदेशको अस्थायी राजधानी तथा प्रदेश प्रमुख नियुक्तिलगायत विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने पाँच राष्ट्रिय पार्टीका नेतालाई बालुवाटार बोलाएका थिए । उक्त बैठकको सुरुमै प्रधानमन्त्रीले बहुमत ल्याएकामा बाम गठबन्धनका नेतालाई बधाई दिएका थिए । त्यसपछि उनले आफू निर्वाचन परिणामअनुसार ‘शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न तयार रहेको बताए । देउवाले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्ने बताएपछि माओवादी अध्यक्ष दाहालले उनलाई बीचैमा रोके ।

‘प्रधानमन्त्रीले पहिलोपटक हामीलाई निर्वाचन जितेकोमा औपचारिक बधाई दिनुभयो,’ एमाले नेता सुवास नेम्वाङले भने,‘हामीले ढिलै भएपनि बधाई दिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद भन्यौं ।’

दाहालले प्रधानमन्त्री देउवालाई चेतावनीको भाषामा जनताले बाम गठबन्धनलाई निर्वाचनकै बेला सत्ता हस्तान्तरण गरिसकेकाले कसैले सत्ता हस्तान्तरण गर्नैनपर्ने बताए ।

‘प्रधानमन्त्रीज्यूले सत्ता हस्तान्तरण गरिराख्नुपर्दैन । त्यो त जनताले चुनावकै बेला गरिसके’, बैठकमा सहभागी एमाले स्थायी समिति सदस्य एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा सञ्चारकर्मीहरुसँग भने, ‘जनताले तपाईंहरुको हातबाट बामपन्थी गठबन्धनलाई हस्तान्तरण गरिसकेको सत्ता तपाईंले हस्तान्तरण गर्नैपर्दैन, बरु जनताको आदेश कार्यान्यवन गर्नुस् ।’

नेम्वाङले प्रधानमन्त्रीले आफू शान्तिपूर्ण ढंगले सत्ता हस्तान्तरण गर्न तयार रहेकामा निश्चिन्त हुनका लागि आफूहरुलाई आश्वस्त पारेको बताए ।

‘बामपन्थी गठबन्धनका तर्फबाट प्रचण्ड कमरेडले बोल्ने भन्ने सल्लाह भएको थियो । गठबन्धनका तर्फबाट बोल्दा उहाँले भन्नुभयो, प्रधानमन्त्रीज्यूले शान्तिपूर्ण रुपले सत्ता हस्तान्तरण गर्छु भन्नुभयो । तर, त्यसलाई म करेक्सन गर्छु भन्दै सत्ता जनताले हस्तान्तरण गरिसकेको जवाफ दिनुभयो । उहाँको भनाई एकदमै प्रष्ट र कडा थियो’, नेम्वाङले भने । उनले बैठकमा आफूहरुले राष्ट्रिय सभा निर्वाचन मिति तोक्न भइरहेको ढिलाइप्रति आपत्ति जनाएको बताए । ‘अध्यादेश जारी भएको यत्तिका दिनसम्म किन राष्ट्रिय सभाको निर्वाचन नगरेको ? अध्यादेश जारी भएपनि मिति नतोक्ने अनि बैठक गरेर हिंड्ने गर्न के खोजेको के हो ?’ नेम्वाङले भने ।

दाहाल कडा रुपमा प्रस्तुत भएपछि प्रधानमन्त्री पनि केही तातिएका थिए । उनले सरकार प्रक्रिया पुर्याएर सरकार छोड्न आतुर भएको बताएका थिए ।

‘माओवादी अध्यक्ष दाहालले चर्को कुरा गर्न थालेपछि प्रधानमन्त्रीज्यू पनि केही तातिनुभएको हो’, स्रोतले भन्यो, ‘त्यसपछि बैठक औपचारिकतामा प्रवेश गर्यो र सबैले आ–आफ्ना धारणाहरु राख्नुभयो ।’

उनले विगतमा स्थानीय तहको निर्वाचन र हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागिभन्दा बढी समय राखेर राष्ट्रिय सभा निर्वाचन घोषणा गर्ने तयारी भइरहेकामा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बताए । ‘आम जनताले भोट हाल्ने पनि होइन । भोट हाल्ने इलेक्टोरल कलेज (स्थानीय तहका प्रमुख उपप्रमुख र प्रदेश सभा सदस्य) ले हो’, नेम्वाङले भने, ‘फागुनमा निर्वाचन गर्ने तयारी ठीक भएन । हाम्रो यसमा विमती छ ।’

अहिलेसम्म राष्ट्रिय सभाको निर्वाचनको मिति किन घोषणा नगर्नुभएको भनेर समेत वाम गठबन्धनका नेताहरुले भनेको नेम्वाङले बताए ।

‘प्रधानमन्त्रीले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखको नियुक्तिबारे समेत छलफल गर्ने भन्नुभएको थियो,’ नेम्वाङले भने,‘जवाफमा हामीले सरकारले नियुक्ति गर्ने र निर्णय गर्ने कुरा गरे हुन्छ भनेर भन्यौं ।’