सामाजिक सञ्जाल

नेतृत्व परिवर्तनका विषयमा एमाले युवा नेताहरुबीच घोचपेच, कसले के भने ?

काठमाण्डौ । जनताको बहुदलीय जनवाद (जबज) को ‘च्याटर क्लोज’ र एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम एकतापछि राजनीतिबाट सन्यास लिएर नयाँ पुस्तालाई सहयोग गर्नुगर्ने भन्ने एमाले युवा नेताको भनाई अहिले घोचपेचको तारो बनेको छ ।

मदन भण्डारीबाट प्रतिपादित जबजलाई वाम एकतासँगै परिमार्जन गर्ने तर्क एकथरी नेताले राखेका छन् । तर अर्काथरीले जबज नै एमालेको मार्गदर्शक सिद्धान्त भएकाले यसलाई अझ उन्तत बनाउने भन्दै च्याप्टर क्लोजको कुरा गर्नु नै अनुपयुक्त भनेका छन् ।

एमालेका सचिव एवम् पार्टी प्रचार विभाग प्रमुख योगश भट्टराई, पोटिव्युरो सदस्य विष्णु रिमाल तथा केन्द्रीय सदस्य एवम् प्रचार विभाग उपप्रमुख सूर्य थापा लगायत नेताहरुबीचको जुहारी अहिले एमाले वृत्त र सामाजिक सञ्जालमा छरपष्ट भएको छ ।

केन्द्रीय सदस्य थापाले पार्टी उपमहासचिव घनश्याम भुसालको जबजको ‘च्याप्टर क्लोज’ भन्ने अभियक्तप्रति कडा टिप्पणी गरेका छन् । ‘च्याप्टर क्लोज जबजको यो के भन्न खोजेको होला, सिद्धान्त बनाउन सकिन्छ, यस मामिलामा कामै भएन भनेर महाधिवेशनमा पूरक प्रस्ताव प्रस्तुत गर्ने, यतिबेला अझ उचाइमा विकास गर्न सारा बर्कत र सामर्थ्य केन्द्रित गर्नुपर्ने बेलामा च्याप्टर नै क्लोज पो गरिदिने, सिद्धान्तको बहसमा संगति चाहिँदैन, त्यसका तर्क र आधारहरूको संगतियुक्त श्रृंखला हुँदैन, कमजोर हुँदा सिद्धान्त नै बनाउनुपर्ने, अयोग्यहरूले बनाउन सकेनन् भन्ने, अलिक अनुकूल मौका देख्नासाथ निषेध र च्याप्टर क्लोजमै उत्रिने । बरू यसो गर्ने बानीकै च्याप्टर क्लोज गर्दा कसो होला, नवौँ महाधिवेशनले जबजलाई मार्गदर्शक सिद्धान्तको तहमा स्वीकारेको नै मान्न कसैले पनि कब्जियत महसुस गर्न मिल्दैन’, उनले फेसबुकमा लेखे ।

एमाले सचिव भट्टराईले केही दिनअघि सार्वजनिक कार्यक्रममै पार्टी अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पार्टी एकताको घोषणा गरेपछि सक्रिय राजनीतिबाट सन्यास लिएर दक्षिण अफ्रिकी अश्वेत नेता नेल्शन मण्डेला बन्न सुझाव दिएका थिए ।

उनले दिएको यो अभिव्यक्तिलाई लिएर एमालेकै अर्का नेता विष्णु रिमाल कडा प्रतिवादमा उत्रेका छ । पोलिटब्यूरो सदस्य रिमालले योगेशको भनाइमा कडा आपत्ति जनाउँदै सामाजिक सञ्जालमै आक्रोश पोखेका छन् ।

‘ऊ बेला ओलाङ्गचुङ्गगोलादेखि जोगबुढासम्म तिनै बूढा ओलीले सम्बोधन नगरे खेल जित्छु भन्ने आँट हाम्रा खेलाडीहरूमा थिएन’, रिमालले ट्विटरमा योगेशमाथि निशाना साँधेका छन्, ‘अहिले यसो सुन्छु र दंग पर्छु, तिनै ओली’को ‘बक(अप’बाट ट्रफी पाउने साथीहरूको ‘माका फुई’ले के बिधि सगरमाथा चढेको हो ?’

रिमालको टिप्पणीपछि भट्टराई पनि चुप लागेर बस्नै सकेनन् । उनले पनि ट्वीटरमै उत्तर दिन भ्याएका छन् । ‘करिब ३५ वर्ष भयो बिष्णु रिमालसँग चिनजान र संगत भएको, उहाँ एक शालिन र मिलनसार लाग्छ मलाई । तर मेराबारे उहाँले प्रयोग गरेका शब्द र टिप्पणीले कुन विष्णु रिमाल हो छुट्याउन गाह्रो भयो । उहाँले मप्रति जति नकारात्मक टिप्पणी गरे पनि उहाँप्रति मेरो सद्भाव सधैँ रहिरहने छ ।’

फेरि रिमालले पनि जबाफ दिन भ्याएका छन् । ‘कमरेड ओली र प्रचण्डले सय प्रतिशत नम्बर ल्याएपछि (पार्टी एकतापछि)मण्डेला बन्न प्रयत्न गर्नुपर्छ भन्ने योगेशजीको भनाइ साह्रै मननीय ! नेताहरु इतिहासमा लेखिनुपर्छ, यसका लागि इतिहासको ‘कर्भ’ रेखा उँधो झरेको राम्रो हुन्न ।’

समाजिक सञ्जालमा टिकाटिप्पणीको पछाडि एमाले भित्रको गुटगत प्रभाव प्रष्ट देखिएको छ । नवौँ महाधिवेशनमा देखिएको दुई लाइन अहिले जबजको बहसमा पनि प्रष्ट देखिएको छ।

त्यो बेला नेताहरु रिमाल र थापा अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट चुनावी प्रतिस्पर्धामा थिए । त्यसैगरी उपमहासचिव भुसाल र सचिव भट्टराई माधव नेपालको प्यानलबाट चुनावी प्रतिस्पर्धामा उत्रेका थिए ।