राजनीति

‘फरार’ भनिएका नवराज सिलवाल कहाँ छन् ? खुल्यो यस्तो रहस्य

काठमाण्डौ । नेकपा एमालेका सांसद नवराज सिलवाल फरार नभएको खुलासा भएको छ ।  सिलवाल एक कार्यक्रमबाट लागि मलेसिया पुगेको खुलासा भएको हो । सिलवालले आफू एक कार्यक्रमका लागि मलेसिया आएको बताएका हुन् ।

नेकपा एमालेबाट ललितपुर क्षेत्र नं १ का नवनिवाचित सांसदले भने, ’म भागेको छैन यो हल्ला मात्र हो । कार्यक्रमका लागि मलेसिया आएको हूँ, म किन भाग्नु ?’

डिआइजी सिलवालले विभिन्न अनलाइनमा आएको समाचारको आधारमा कासमू फाइल बुझाएको भन्दै आएका छन् । प्रहरीले संञ्चार माध्यमसम्म अति गोप्य फायल कसरी आइपुग्यो भन्ने विषयमा पनि अनुसन्धान शुरु गरेको छ । उनले भने, ‘पक्राउ पुर्जी कसरी र कस्ता व्यक्तिलाई थुनामा राख्दा दिइन्छ जानकारी नहुनेले जथाभावी प्रचार गरेका छन् । म जोसुकैलाई पनि जवाफ दिन तयार छु । कानून राम्ररी बुझेको छु । जनताको भोटबाट चुनिएको प्रतिनिधि हु । म भाग्ने मान्छे होइन ।’

सिलवाललाई पक्राउ गर्न गोदावरीस्थित निवास पुगेको प्रहरी टोली रित्तो हात फर्किएको थियो । महानगरीय प्रहरी परिसर काठमाण्डौले मंगलबार मात्र ललितपुर प्रहरीलाई पत्र लेखी सिलवाललाई उपस्थित गराइदिन आग्रह गरेको थियो ।

प्रहरी महानिरीक्षक मुद्दामा सिलवालले पेश गरेको कार्य सम्पादन मुल्यांकन नम्बर र प्रहरी प्रधान कार्यालयले पेश गरेका नम्बर फरक परेको भन्दै सर्वोच्च अदालतले कासमु फरक भएको प्रसङ्गमा कस–कसको गल्ती हो छानबिन गर्न निर्देशन दिएको थियो ।

सिलवालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भएको लज्जास्पद पराजयको प्रतिशोध लिन र पार्टीभित्रको बहस अन्यत्र मोड्न देउवाले आफूबिरुद्ध सिलसिलेवार प्रोपोगाण्डा मच्चाएको आरोप लगाए ।

उनले कासमु किर्ते काण्डमा तत्कालिन आइजिपी उपेन्द्रकान्त अर्याल र सरकार नै संलग्न रहेको भन्दै अहिलेको प्रहरी नेतृत्वबाट निष्पक्ष छानविन हुनेमा शंका गरेका छन् ।

सिलवालले भने, ‘मैले अनलाइनहरुमा आएको कासमुको विवरण फोटोकपी गरेर बुझाएको हो । यस प्रकरणमा तत्कालिन आइजिपी उपेन्द्रकान्त अर्याल लगायतका व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्छ । म सडकबाट राज्यसँग लडेको व्यक्तिले कसरी किर्ते गर्न सक्छु ? यो त ममाथि ज्यादतिको पराकाष्ठा हो ।’