राजनीति

योगेश भट्टराईले कसलाई भने समाचारका दलाल ?

काठमाण्डौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई ‘मिसगाइड’ गर्ने प्रयत्न भएको दाबी गरेका छन् । पार्टीका केही नेताहरुले अनावश्यक विषयमा उचाल्ने र विवादमा पार्ने प्रयत्न भएको उनको भनाइ छ ।

आफूले बोल्दै नबोलेको विषयलाई उचान्ने र अध्यक्ष ओलीको नजिक बन्ने प्रयत्न भएको भट्टराईले बताए । ‘अध्यक्षसँगको सम्बन्ध बिगार्ने, अध्यक्षलाई उत्तेजित बनाउने प्रयत्न भएको छ,’ राजधानीमा सञ्चारकर्मीसँग भट्टराईले भने, ‘तर उहाँले सबै कुरालाई बुझ्नुभएको छ, हामी दुवैले एकअर्काप्रति विश्वासका साथ काम गरेका छौं ।’ नेताहरुसँगै ‘समाचारका दलालहरु’ पनि एक अर्को नेताबीच भिडाउन सक्रिय रहेको बताए ।

भट्टराईले आफूले माधव नेपाललाई अध्यक्ष र ईश्वर पोखरेललाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर कहिंकतै नबोलेको दाबी गरे । ‘म कुनै पद बाँड्ने व्यक्ति होइन, पार्टी सामूहिक निर्णय र विधिअनुसार चल्छ,’ उनले भने, ‘कुनै विचार आयो भयो भने स्थायी कमिटीमा भन्छु, मैले भन्ने फोरम छ ।’ नेतृत्व चयन गर्ने कुरा केटाकेटी खेलेजस्तो नभएको उनको टिप्पणी छ ।

चुनाव जितेर आएपछि समकक्षीहरुसमेत रोक्न–छेक्न आफूलाई विवादित बनाउने खोजेको भट्टराईको संकेत थियो ।

नेतृत्वको विषयमा अध्यक्ष ओलीले नै प्रस्ताव गर्दा बैधानिक हुने बताउँदै एमाले प्रचार विभाग प्रमुखसमेत रहेका भट्टराईले त्यसपछिमात्रै ‘क्रिया–प्रतिक्रिया’ व्यक्त हुने बताए ।

एमाले अध्यक्ष ओलीलाईजस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि सोही पार्टीका नेताहरुले अनावश्यक विषयमा उकास्नतिर लागेको भट्टराईको भनाइ छ । कम्युनिष्ट एक हुन नदिने विदेशी शक्तिको रुचि पनि एकाएक बढेको उनको बुझाइ छ ।

एमाले र माओवादी केन्द्रबीचको एकता असहज हुने जानेरै एकताको बाटोमा लागिएको बताउँदै नेता भट्टराईले सबै विषयलाई सहजै टुंगो लगाइने दाबी गरे । ‘एमाले र माओवादी केन्द्रको एकता नेतृत्वको प्रश्न चर्चामा छ, स्वभाविक पनि हो,’ बजारमा छलफल र हल्ला गरेर नेतृत्व नटुंगिने बताउँदै उनले भने, ‘पार्टीको उच्च तहले लामो समयसम्म बसेर टुग्याउनुपर्छ ।’

विगतमा सिद्धान्तको लेपन लगाएर कम्युनिष्ट पार्टी फुट्ने गरेको उदाहरण दिंदै भट्टराईले भने, ‘तर सिद्धान्तभन्दा नेतृत्वको विषय नमिल्दा कम्युनिष्ट पार्टी फुट्ने गरेका छन् ।’ नेतृत्वको विषयलाई गम्भीर गृहकार्य गरेर टुंगोमा पुर्‍याउनुपर्ने उनले बताए । दुई पार्टीबीचको एकता शताब्दीसम्म प्रभाव पार्ने घटना हुने बताउँदै होसियारीपूर्वक गर्नुपर्ने उनले जनाए ।

ओली र दाहालसँगै माधव नेपाल, झलनाथ खनाललगायत दुवै पार्टीका नेताहरुको पोजिसन मिलाउन उनले शीर्ष नेतृत्वको ध्यानाकर्षण गराए ।

भट्टराईले मुलुकलाई यहाँसम्म ल्याउन ओली र दाहालले खेलेको भूमिकाको आफूले मुक्तकण्ठले प्रशंसा गरेको बताउँदै उहाँहरुलाई युग युगसम्म सम्झिइरहने बनाउन नेतृत्व हस्तान्तरणको बहस ल्याएको उल्लेख गरे । ‘यही प्रसंगमा मैले नेल्सन मण्डेलाको उदाहरण दिंदै पुरानो पुस्ताले अभिभावकत्व प्रदान गरेर दुवै पार्टीका शीर्ष नेताले नेतृत्व हस्तान्तरण गर्नुभयो भने उहाँहरुको अगाडि दुनियाँ झुक्छ भनेको हो,’ मृत्युपछि पनि उहाँहरुलाई जीवित राख्न आफूले यस्तो प्रस्ताव गरेको बताउँदै उनले भने, ‘जीवित हुँदै मारेर दुनो सेझ्याउनेहरु बिच्किएका होलान्, उहाँहरुको प्रतिक्रियाचाँही के छ बुझेको छैन ।’