पु.समाचार

एउटै वडाका दुई महिला १४ दिनदेखि बेपत्ता

कपिलबस्तु । कपिलबस्तुको एकै गाउँका दुई जना महिला १४ दिनदेखि बेपत्ता भएका छन् ।

बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडका दुई महिला १४ दिनदेखि बेपत्ता भएका हुन् । बक्सीसपुर टोलमा घर भएकी २२ वर्षीया गीता गुरुङ यही मंसिर २४ गतेदेखि र भलवाड घर भएकी राधा नेपाली परियार पुस ५ गतेदेखि बेपत्ता भएका उनीहरुका आफन्तले बताएका छन् ।

अर्घाखाँची गौचौर माइती भएकी गुरुङ मंसिर १५ गते अढाइ वर्षको छोरालाई लिएर माइत गएकी नन्द धना गुरुङले बताइन । माइतीमा तीनदिन बसेपछि घर जान्छु भनेर हिंडेकी उनी अझै घर गएकी छैनन् ।

उनले ‘म घर आईपुगेँ’ भनेर आमालाई फोनसमेत गरेकी थिइन् । ‘माइत गएको धेरै दिन भयो, भाउजु अझै आउनु भएन’ भन्दै नन्दले माइतमा फोन गरेपछि मात्र गुरुङ हराएको थाहा भएको थियो ।

उनकी सासूले गहभरि आँशु पार्दै भनिन्, ‘हाम्रा आफन्त भएका सबै ठाउँमा खोजियो । कतै पत्ता लगाउन सकिएन, अरुभन्दा नि नातिको सारै याद आउँछ ।’

यस्तै, यही पुस ५ गतेदेखि बेपत्ता भएकी राधाको घटना भने फरक छ। मलाई कसैले नखोज्नुहोला भन्ने बेहोराको एक पान्नाको चिठी लेखेर उनले घर छाडेकी थिइन् । राधा कहाँ गइन् भन्ने अहिलेसम्म पत्ता लाग्न नसकेको उनका ससुरा छन्दबहादुर परियारले बताए ।

पत्रमा कुनै ठाउँमा जान्छु भनेर स्पष्ट नलेखेको उनको भनाई छ । सबै ठाउँमा खोजी गर्दा पनि राधालाई कतै फेला पार्न नसकेको आफन्तजनले बताएका छन् ।

बेपत्ता हुने गीता गुरुङका श्रीमान् मलेसियामा र राधाका श्रीमान् ओमनमा छन् । दुवै परिवारले इलाका प्रहरी कार्यालयमा खोजिदिनका लागि निवेदन दिएका छन् । वेपत्ता दुवै महिलाको खोजीकार्य भइरहेको प्रहरी निरीक्षक राजु कार्कीले बताए ।